काठमाडौँ । एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेसँगै सुनले नयाँ कीर्तिमान बनाएको छ। लगातार उकालो लागेको मूल्यले गहना व्यवसायी र उपभोक्ता दुवैलाई सोचमा पारेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेन। एक तोला चाँदी सात हजार ५०५ रुपैयाँमा कारोबार हुँदा सेतो धातुको मूल्यसमेत उच्च बिन्दुमा पुगेको छ।
पछिल्ला केही दिनयता सुनको मूल्यले ‘रेकर्ड ब्रेक’ गर्ने क्रम रोकिएको छैन। बुधबार छापावाल सुन तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने त्यसअघिल्लो दिन मङ्गलबार तीन लाख नौ हजार ३०० रुपैयाँमा सीमित थियो। तीन दिनमै झण्डै ३० हजार रुपैयाँले उक्लिएको मूल्यले बजारको मनोविज्ञान नै बदलिदिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको चमक कम भएको छैन। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्व बजारमा एक औँस सुन पाँच हजार ५६० अमेरिकी डलरमा कारोबार भइरहेको छ। चाँदीको मूल्यसमेत एक औँस १२० डलर पुगेको छ। विश्वव्यापी आर्थिक अनिश्चितता, लगानीकर्ताको सुरक्षित सम्पत्तिप्रतिको आकर्षण र मुद्रा बजारको उतारचढावले सुनको मूल्यलाई थप माथि धकेलेको विश्लेषण गरिएको छ।
मूल्य आकासिँदा विवाह–ब्रतबन्धजस्ता सांस्कृतिक प्रयोजनका लागि गहना किन्ने नेपाली उपभोक्ताहरू थप पर्ख र हेरको अवस्थामा पुगेका छन्। व्यवसायीहरू भने उच्च मूल्यका बीच कारोबार सुस्ताउँदै गएको बताउँछन्।
सुनको यो उकालो यात्रा कहाँ गएर रोकिन्छ भन्ने प्रश्न अहिले बजारकै सबैभन्दा ठूलो जिज्ञासा बनेको छ।