६ वर्षपछि खुल्यो जमुनाह नाका, पश्चिम नेपालको पर्यटनमा नयाँ सम्भावना
नेपालगञ्ज । करिब छ वर्षपछि जमुनाह नाका तेस्रो मुलुकका नागरिकका लागि खुला भएसँगै पश्चिम नेपालका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ। अध्यागमन कार्यालय जमुनाहले एक साताअघिदेखि आगमन र प्रस्थान सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याएपछि विदेशी पर्यटकलाई नेपाल–भारत यात्रा सहज बनेको हो।
अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीका अनुसार नाका खुल्नासाथ भारत हुँदै आएका दुई जना तेस्रो मुलुकका पर्यटकले जमुनाहबाट आवतजावत गरेका छन्। लामो समयपछि तेस्रो मुलुकका नागरिकका लागि नाका सञ्चालनमा आउनु सीमावर्ती पर्यटनका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
‘पर्यटकलाई कुनै असहज नहोस् भनेर सबै सेवा सक्रिय बनाएका छौं,’ वलीले भनिन्, ‘नेपाल हुँदै भारत र भारत हुँदै नेपाल आवतजावत सहज भएपछि पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्छ।’
उनका अनुसार जमुनाह नाका सक्रिय भएसँगै नेपालगञ्ज आसपासका होटल, रेष्टुरेन्ट र यातायात सेवा चलायमान हुने अपेक्षा गरिएको छ। यसले स्थानीय अर्थतन्त्रलाई ऊर्जा दिनुका साथै रोजगारीका अवसरसमेत बढाउने विश्वास गरिएको छ।
तेस्रो मुलुकका पर्यटक जमुनाह नाका हुँदै नेपाल प्रवेश गरेपछि बाँके र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यसम्म सहजै पुग्न सक्ने अवस्था बनेको छ। बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने बाघलगायत दुर्लभ वन्यजन्तु, प्राकृतिक सौन्दर्य र थारू संस्कृतिले विदेशी पर्यटकलाई आकर्षित गर्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।
भारतीय पत्रकार एसके मधेसीयाले जमुनाह नाकाबाट हुने आवतजावतले नेपाल र भारत दुवै देशलाई फाइदा पुग्ने बताए। ‘भारत हुँदै यात्रा गर्ने तेस्रो मुलुकका पर्यटकले अब सिधै नेपालका पर्यटकीय क्षेत्र अवलोकन गर्न पाउने भएका छन्,’ उनले भने।
नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आउनु पश्चिम नेपालको पर्यटनका लागि नयाँ ढोका खुलेको जस्तै भएको बताए। ‘तेस्रो मुलुकका पर्यटक भारत हुँदै आएर बाँके र बर्दियाका निकुञ्ज, वन्यजन्तु र स्थानीय संस्कृति नजिकबाट अनुभव गर्न सक्छन्,’ उनले भने।
कोरोना महामारीपछि बन्द गरिएको जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटकको आवतजावत पुनः सुरु भएसँगै नेपालगञ्जलाई ट्रान्जिट पर्यटन केन्द्रका रूपमा विकास गर्ने सम्भावनासमेत बढेको पर्यटन व्यवसायीहरूको ठम्याइ छ।
