पश्चिमी प्रणाली फेरि बलियो बन्दै, हिमालमा हिउँ र पहाडमा पानीको संकेत
काठमाडौँ । एक सातामै खुलेको मौसमले धेरैलाई राहत दिएको बेला पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुन लागेको छ। यसले देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार सोमबारदेखि सुदूरपश्चिम र कर्णालीमा यसको असर देखिन थालिसकेको छ भने मंगलबारसम्म गण्डकी, लुम्बिनी, कोशी र बागमतीका पहाडी तथा हिमाली भेगमा पनि बदलीसँगै वर्षा र हिमपात हुने अनुमान गरिएको छ। तर तराई र मधेस क्षेत्रमा भने वर्षाको प्रभाव न्यून रहने र चिसो बढ्ने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार अघिल्लो साता आएको जत्तिको शक्तिशाली नभए पनि यो प्रणालीले पश्चिम र मध्य नेपालमा चिसो बढाउँदै मध्यमसम्म वर्षा र हिमपात गराउन सक्छ।
“आज कर्णाली र सुदूरपश्चिममा देखिएको बदली क्रमशः बढ्दै जान्छ। मंगलबार पश्चिम र मध्य नेपालका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढी छ,” अधिकारीले बताए।
उनका अनुसार कोशी र बागमतीका माथिल्ला भेगमा पनि यसको प्रभाव पर्न सक्छ भने तल्लो भू–भाग, तराई र मधेसमा भने असर कम रहनेछ। काठमाडौं उपत्यकामा मंगलबार राति छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले सोमबार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने र हिमाली भू–भागमा बादल लाग्ने जनाएको छ। मंगलबार भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने अन्य पहाडी भू–भागमा हल्का वर्षा हुन सक्छ।
मौसमविद्हरूले चिसो बढ्ने भएकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने र कृषिमा संलग्न किसानलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
