सार्वजनिक बिदामा पनि राहदानी सेवा सञ्चालनमा
काठमाडौं । राहदानी विभाग ले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने निर्णय गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार बुधबार र बिहीबार परेको सार्वजनिक बिदामा पनि राहदानीसम्बन्धी अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराइनेछ।
सरकारले बुधबार ग्याल्पो ल्होछार तथा बिहीबार प्रजातन्त्र दिवस को अवसरमा सार्वजनिक बिदा दिएको भए पनि सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै विभाग खुला रहने भएको हो।
दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय सञ्चालन हुनेछ। बुधबार राहदानी वितरण सेवा उपलब्ध गराइनेछ भने बिहीबार राहदानीका लागि आवेदन फारम सङ्कलन गरिने विभागले जनाएको छ।
अत्यावश्यक सेवाअन्तर्गत पर्ने राहदानी सेवामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिन पनि सेवा सञ्चालन गर्न लागिएको विभागको भनाइ छ। यस निर्णयले सेवाग्राहीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
