घान्द्रुकमा चारदिने पर्यटन उत्सव सुरु
पोखरा । घान्द्रुकमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने महोत्सव सुरु भएको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक) को संयुक्त आयोजनामा कार्यक्रम प्रारम्भ गरिएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले महोत्सव उद्घाटन गर्दै गाउँपालिकाको समृद्धिको आधार कृषि र पर्यटन नै भएको बताए। उनले वडा नम्बर ७ देखि ११ सम्मका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र अन्य वडालाई कृषि उत्पादन केन्द्रका रूपमा अघि बढाउने नीति लिइएको जानकारी दिए।
पर्यटकलाई सहज सेवा उपलब्ध गराउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र स्थापना गरिएको अध्यक्ष केसीले उल्लेख गरे। उक्त केन्द्रमार्फत पदमार्ग, दृश्यावलोकन स्थल, सांस्कृतिक गतिविधि र नयाँ गन्तव्यबारे जानकारी दिइनेछ। साथै अन्नपूर्ण आधारशिविर जाने पर्यटकका लागि स्वास्थ्य जाँच सेवा समेत गाउँपालिकाले सञ्चालन गर्दै आएको जनाइएको छ।
महोत्सव अवधिभर घान्द्रुक भ्रमण गर्ने पाहुनालाई होटलमा १५ प्रतिशतसम्म छुट प्रदान गरिने आयोजकले बताएका छन्। दिनको समयमा खेलकुद प्रतियोगिता र साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम तालिका छ।
अन्नपूर्ण आधारशिविर क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित घान्द्रुक पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकबीच लोकप्रिय गन्तव्य बन्दै गएको छ। महोत्सवले स्थानीय उत्पादन, संस्कृति र आतिथ्य सेवाको प्रवर्द्धन गर्दै बसाइ अवधि लम्ब्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
