इरानको प्रत्याक्रमण, सात देशमा सैन्य अड्डा निशाना, कहाँ कति क्षति?
तस्बिरः सिएनएन।
काठमाडौं । अमेरिका र इजरायलले इरानका सैन्य तथा सरकारी संरचनामाथि आक्रमण थालेपछि तेहरानले त्यसको जवाफस्वरूप क्षेत्रीय स्तरमै कारबाही गरेको जनाएको छ। इरानले पर्सियन खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको हो। Islamic Revolutionary Guard Corps (आइआरजिसी) का अनुसार इजरायलसँगै कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन, साउदी अरब, जोर्डन र इराकस्थित अमेरिकी अड्डाहरू निशानामा परेका छन्।
कतार
कतारको अल–उदेइद एयर बेसतर्फ प्रहार गरिएका मिसाइलहरू प्रतिरक्षा प्रणालीले निस्तेज पारेको कतारको रक्षा मन्त्रालयले जनाएको छ। मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन।
संयुक्त अरब इमिरेट्स (यूएई)
दुबई र आबुधाबीमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। प्रतिरक्षा प्रणालीले अधिकांश प्रहार रोके पनि एक मिसाइलको भग्नावशेष आबुधाबीमा खस्दा एक एसियाली नागरिकको मृत्यु भएको यूएईका सरकारी स्रोतहरूले जनाएका छन्। दुबईको पर्यटकीय क्षेत्र पाम जुमेराहमा आगलागी हुँदा चार जना घाइते भएका छन्।
बहराइन
बहराइनस्थित अमेरिकी नौसैनिक अड्डामा एक मिसाइल लागेको विवरण बाहिरिएको छ। त्यहाँ ड्रोन प्रहारबाट सैन्य संरचनामा क्षति पुगेको जनाइएको छ।
साउदी अरब
राजधानी रियाद तथा पूर्वी प्रान्त मिसाइलको दायरामा परेका साउदी प्रेस एजेन्सीले जनाएको छ। साउदी सरकारले आक्रमणको निन्दा गरे पनि क्षतिको विस्तृत विवरण खुलाएको छैन।
जोर्डन
जोर्डनले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले दुई ब्यालिस्टिक मिसाइल खसालेको जनाएको छ। केही आवासीय क्षेत्रमा सामान्य क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
कुवेत
कुवेतस्थित अल–सालेम एयर बेसतर्फको प्रहार निस्तेज पारिएको दाबी गरिएको छ। तर पछि ड्रोन आक्रमण हुँदा कुवेत अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा केही व्यक्ति घाइते भएको समाचार बाहिरिएको छ। एक अस्पतालमा १२ जना घाइतेलाई उपचारका लागि ल्याइएको विवरण सार्वजनिक भएको छ।
इराक
उत्तरी इराकमा रहेको अमेरिकी सैन्य अड्डा पनि आक्रमणको निशानामा परेको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच इरानले इजरायलतर्फ पनि दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ। इजरायलले करिब ४० मिसाइल प्रहार भएको पुष्टि गर्दै केही सामान्य घाइते भएको जनाएको छ।
इरानमा पनि क्षतिको विवरण सार्वजनिक हुन थालेको छ। Al Jazeeraले इरानको एक विद्यालयमा कम्तीमा ५४ जनाको मृत्यु भएको उल्लेख गरेको छ। दक्षिणी सहर लामेर्डमा १५ जनाको ज्यान गएको दाबी गरिएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले खाडी मुलुकहरूमाथि हमला गर्ने उद्देश्य नभएको स्पष्ट पारेका छन्। उनका अनुसार आत्मरक्षाका लागि त्यहाँ रहेका अमेरिकी सैन्य अड्डालाई मात्र लक्ष्य बनाइएको हो।
उनले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र राष्ट्रपति मसुद पेजिस्कियन सुरक्षित रहेको दाबी गरेका छन्। केही उच्च सैन्य कमाण्डर मारिएको आशंका भने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सत्ता आफ्नो नियन्त्रणमा लिन तयार रहन आह्वान गरेका छन्।
तेहरानले भने हाल अमेरिकासँग कुनै प्रत्यक्ष संवाद नभएको बताउँदै, वार्ताको बाटो खुला राखिएको संकेत दिएको छ। एजेन्सीको सहयोगमा
तस्बिरः सिएनएन।
