नेपालमा भारतीय पर्यटकलाई प्रतिबन्ध लागेको छैनः पर्यटन बोर्ड
टुरिजमफेस
काठमाडौं । भारतीय पर्यटकमाथि कुनै प्रतिबन्ध नलगाइएको भन्दै नेपाल पर्यटन बोर्डले स्पष्टिकरण दिएको छ। बोर्डले विज्ञप्ति जारी गर्दै नेपालमा भारतीय पर्यटकको बसाइँमा ३० दिने सीमा तोकिएको, अनिवार्य परिचयपत्र लागू गरिएको वा सवारीसाधन जफत गरिने भन्ने समाचारहरू भ्रामक र तथ्यहीन भएको जनाएको हो।
पछिल्ला दिनमा केही सञ्चारमाध्यम तथा डिजिटल प्लेटफर्ममा नेपाल सरकारले भारतीय पर्यटकका लागि कडा नियम लागू गरेको भन्ने अपुष्ट सामग्री सार्वजनिक भएपछि बोर्डले औपचारिक धारणा सार्वजनिक गरेको हो। बोर्डका अनुसार नेपाल–भारतबीचको खुला सीमा व्यवस्था, सांस्कृतिक सम्बन्ध र द्विपक्षीय सहकार्य यथावत् रहेको छ। भारतीय नागरिकको आवतजावत वा नेपाल बसाइँमा कुनै नयाँ बन्देज नलगाइएको बोर्डले स्पष्ट पारेको छ।
बोर्डले पर्यटकलाई झन्झटमा पार्ने होइन, सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले नयाँ डिजिटल प्रणाली लागू गरिएको जनाएको छ। भन्सार विभाग ले भारतीयसहित विदेशी निजी सवारीसाधनका लागि अनलाइन सहजीकरण प्रणाली सञ्चालनमा ल्याएको छ। यसमार्फत नेपाल प्रवेशअघि नै अस्थायी अनुमति र राजस्व भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरिएको बोर्डको भनाइ छ।
यस प्रणालीले सीमाक्षेत्रमा हुने ढिलासुस्ती र प्रशासनिक झन्झट कम हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ। साथै, गलत सूचना फैलिँदा पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले संवेदनशील विषयमा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न बोर्डले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
नेपाल भारतीय पर्यटकका लागि सुरक्षित, सहज र स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै बोर्डले आधिकारिक जानकारीका लागि सरकारी निकाय र बोर्डका आधिकारिक माध्यम मात्रै पछ्याउन अनुरोध गरेको छ।
