उद्धार संयन्त्र अभावमा संकटमा वन्यजन्तु
फाइल तस्बिर
झापा । मानव बस्तीमा वन्यजन्तु पस्ने घटना बढ्दै जाँदा तिनको सुरक्षित उद्धार, उपचार र पुनःस्थापनामा गम्भीर चुनौती देखिएको छ। पर्याप्त स्रोत–साधन, प्राविधिक उपकरण र दक्ष जनशक्तिको अभावका कारण झापामा पछिल्लो समय वन्यजन्तु संरक्षण प्रभावकारी बन्न सकेको छैन।
पछिल्ला दुई महिनामै एउटा चितुवा र एउटा दुर्लभ गौरी गाई (गौर)को मृत्यु भएपछि वन्यजन्तु उद्धार प्रणालीमाथि प्रश्न उठ्न थालेको छ। स्थानीयवासीले संकटमा परेका वन्यजन्तुको समयमै सुरक्षित उद्धार हुन नसकेको भन्दै गुनासो गर्न थालेका छन्।
झापामा हात्ती, बँदेल, बाँदर, मृगलगायत वन्यजन्तु र मानवबीचको द्वन्द्व दिनप्रतिदिन बढ्दो क्रममा छ। सीमावर्ती जिल्ला भएकाले भारतबाट दुर्लभ वन्यजन्तुहरू नेपाली बस्तीमा प्रवेश गर्ने घटना पनि भइरहेका छन्। आहाराको खोजीमा बाली नष्ट गर्न वा बाटो बिराएर गाउँ पस्ने वन्यजन्तुलाई धपाउने क्रममा ती घाइते हुने गरेका छन्।
तर, जिल्लाभित्रै ठूला तथा हिंस्रक वन्यजन्तुको उद्धारका लागि आवश्यक संयन्त्रको अभाव छ। डिभिजन वन कार्यालय झापाका वन्यजन्तु शाखाका डा. जितेन्द्र यादवका अनुसार चितुवा वा हात्ती जस्ता वन्यजन्तुको नियन्त्रण र उपचारका लागि ‘डार्ट’ अर्थात् लठ्याउने प्रविधि आवश्यक पर्छ। त्यसका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली र उपकरण ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए।
“हामीसँग सर्प वा बाँदर नियन्त्रण गर्ने सामान्य उपकरण त छन्, तर डार्ट सञ्चालनका लागि आवश्यक सामग्री र तालिमप्राप्त जनशक्ति छैन,” डा. यादवले भने।
यही कमजोरीका कारण दुई महिनाअघि बुद्धशान्ति–४ मा गाउँ पसेको चितुवालाई नियन्त्रणमा लिने क्रममा स्थानीयको भीडले आक्रमण गर्दा त्यसको मृत्यु भएको थियो।
त्यस्तै, यसै साता काँकडभिट्टामा भारतबाट आएको एउटा गौर अत्तालिएर भाग्ने क्रममा लड्दा हृदयाघातका कारण मरेको थियो। घाइते अवस्थामा सडकमा लडेको डेढ घण्टासम्म पनि उद्धार टोली नपुग्दा दुर्लभ वन्यजन्तुले ज्यान गुमाउनुपरेको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले बताए।
वन कार्यालयका अनुसार हरिण, कछुवा, अजिङ्गर र मृगजस्ता कम हिंस्रक वन्यजन्तुको उद्धार भने स्थानीय वन टोलीले गर्दै आएको छ। कार्यालयमा प्राथमिक उपचारका लागि औषधि भण्डारण र अस्थायी खोरको व्यवस्था गरिएको छ। सामान्य घाइते वन्यजन्तुको उपचार वन कार्यालयकै टोलीले गर्ने र जटिल अवस्था भए भेटेरिनरी अस्पतालको सहयोग लिने गरिएको डा. यादवले जानकारी दिए।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमृतबहादुर लिम्बूका अनुसार जिल्लामा कार्यरत वन कर्मचारी तथा सशस्त्र वनरक्षकहरूले हिंस्रक वन्यजन्तु नियन्त्रणसम्बन्धी विशेष तालिम पाएका छैनन्। यस्तो विशिष्टीकृत तालिम वन्यजन्तु आरक्षका कर्मचारीसँग मात्रै उपलब्ध हुने उनले बताए।
वन्यजन्तुको संरक्षणका लागि कचनकबलस्थित दुर्गाभिट्टा र कनकाईको जामुनखाडी सामुदायिक वन क्षेत्रमा आश्रयस्थल निर्माण गरिएको छ। उद्धार गरिएका अजिङ्गर, बाँदर, कछुवा तथा चितुवाका छावा त्यहीँ स्थानान्तरण गर्ने गरिएको वन कार्यालयले जनाएको छ।
विशेषगरी हात्तीको समस्या बढी देखिने बाहुनडाँगी क्षेत्रमा वन कार्यालयले सशस्त्र वनरक्षकको विशेष टोलीसमेत परिचालन गरेको जनाएको छ। तर, वन्यजन्तु–मानव द्वन्द्व बढ्दै जाँदा प्रभावकारी उद्धार, उपचार र व्यवस्थापनका लागि आधुनिक उपकरण, दक्ष जनशक्ति र दीर्घकालीन नीति आवश्यक देखिएको सरोकारवालाहरू बताउँछन्।
फाइल तस्बिर
