सगरमाथाको चुचुरोमा निलमको सन्देश : “हाम्रो पहिचान कमजोरी होइन”
टुरिजमफेस
काठमाडौं । नेपालकी निलम पौडेलले सगरमाथाको सफल आरोहण गर्दै नयाँ इतिहास रचेकी छन्। उनी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो ट्रान्सवुमन बनेकी हुन्।
गत शनिबार उनले सगरमाथाको चुचुरोमा पाइला टेक्दा त्यो केवल व्यक्तिगत सफलता मात्र थिएन, बरु वर्षौंदेखि विभेद, अपमान र अस्वीकार सहँदै आएको समुदायको आत्मविश्वास र अस्तित्वको आवाज पनि थियो। काठमाडौं फर्किएकी निलमले आफ्नो आरोहणलाई समानता र सम्मानको सन्देशका रूपमा प्रस्तुत गरिन्।
उनले भनिन्, “हामीलाई कमजोर ठान्ने सोच अझै समाजमा छ। तर अवसर र विश्वास पाए हामी पनि जुनसुकै क्षेत्रमा उत्कृष्ट बन्न सक्छौं भन्ने प्रमाण दिन चाहन्थेँ।”
संघर्षले बनेको आत्मविश्वास
भोजपुरमा जन्मिएकी निलम आर्थिक रूपमा कमजोर परिवारमा हुर्किइन्। आठ दाजुभाइ दिदीबहिनीमध्ये उनी तेस्रो सन्तान हुन्। बाल्यकालमा पढाइलाई निरन्तरता दिन उनले विभिन्न जिल्लामा अरूको घरमा बसेर जीवन बिताइन्।
साना उमेरदेखि नै आफूभित्र अरू केटाभन्दा फरक अनुभूति हुने उनी सम्झिन्छिन्। केटीहरूको पहिरन, नृत्य र व्यवहारतर्फ आकर्षण बढ्दै गए पनि त्यो कुरा कसैलाई भन्न सकिनन्। समाजले स्वीकार नगर्ला भन्ने डर थियो।
पछि पत्रपत्रिकामार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे जानकारी पाएपछि भने आफू एक्लो नभएको महसुस गरिन्। त्यसले उनलाई आफ्नो पहिचान स्वीकार गर्ने साहस दियो।
धरानमा अध्ययनका क्रममा उनले पहिलो पटक सार्वजनिक रूपमा महिलाको पहिरनमा उपस्थित हुने निर्णय गरिन्। परिवारको प्रतिक्रिया कस्तो होला भन्ने चिन्ता थियो। तर बुबाले “राम्रो काम गर्नू” भनेर दिएको साथले उनको आत्मबल झन् बढायो।
रोजगारीदेखि सम्मानसम्मको लडाइँ
निलम अहिले पेशाले मेकअप आर्टिस्ट हुन्। उनले कलाकारदेखि सामान्य व्यक्तिसम्मको शृंगार गर्दै आफ्नो पहिचान स्थापित गरेकी छन्।
तर यो यात्रामा उनले धेरै अपमान र असहज अनुभव झेलिन्। कामको प्रशंसा भए पनि ट्रान्सवुमन भएकै कारण पुनः काममा नबोलाइने, हेपिने वा अपमानजनक टिप्पणी सहनुपर्ने अवस्था बारम्बार दोहोरिएको उनी बताउँछिन्।
“काम राम्रो भयो भन्छन्, तर फेरि सम्झिँदैनन्,” उनी भन्छिन्, “मानिसहरू सीपभन्दा पहिचान हेर्छन्।”
कहिलेकाहीँ कामका लागि बाहिर जाँदा टोलीका सदस्यहरूले अप्रत्यक्ष रूपमा अपमानजनक टिप्पणी गर्ने, समयको मूल्य नदिने वा असामान्य व्यवहार गर्ने गरेको अनुभव पनि उनले सुनाइन्।
यद्यपि उनले हार मानिनन्। संघर्षकै बीच उनले आफ्नो सीपलाई अझै निखारिन्। थाइल्यान्डसम्म पुगेर मेकअपसम्बन्धी तालिम लिइन्। त्यसपछि कलाकारिता र फेसन क्षेत्रमा पनि सक्रिय भइन्।
विदेशको पीडा र आत्मपहिचानको यात्रा
परिवारको आर्थिक अवस्था कमजोर भएकाले किशोरावस्थामै उनी वैदेशिक रोजगारीका लागि कतार पुगिन्। त्यहाँ आफ्नो वास्तविक पहिचान लुकाएर काम गर्नुपरेको अनुभव उनले अझै बिर्सन सकेकी छैनन्।
पछि युएईमा घरेलु कामदारका रूपमा काम गर्दा भने उनले आफूलाई महिलाको रूपमा बाँच्ने स्वतन्त्रता महसुस गरिन्। त्यही क्रममा हार्मोन थेरापी सुरु गरिन् र पछि बैंकक पुगेर शारीरिक परिवर्तनसम्बन्धी प्रक्रिया पनि गराइन्।
नेपाल फर्किएपछि भने कोठा भाडा लिनदेखि रोजगारी खोज्नसम्म कठिनाइ भयो। मानिसहरूले उनको स्वर, शरीर र पहिचानमाथि टिप्पणी गर्थे।
“दिनभर हाँसेर बसिन्थ्यो, राति भने धेरै रोइन्थ्यो,” उनले विगत सम्झिँदै भनिन्।
समुदायका लागि आवाज
निलम अहिले केवल आफ्नो करिअरमा सीमित छैनन्। उनले “लुकेका घाउहरू” नामक युट्युब कार्यक्रम सञ्चालन गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका कथा सार्वजनिक गरिरहेकी छन्।
कार्यक्रममार्फत उनी समाजमा रहेका भ्रम, विभेद र हिंसाबारे खुला बहस गर्न चाहन्छिन्। समुदायका सदस्यहरूलाई आफ्नो अनुभव साझा गर्न प्रेरित गरिरहेकी छन्।
उनले नक्सालमा सानो स्टुडियो स्थापना गरेकी छन्, जहाँबाट भिडिओ सामग्री निर्माण हुन्छ। साथै कृत्रिम गहनाको व्यवसाय पनि सुरु गरेकी छन्, जसलाई उनी आर्थिक आत्मनिर्भरतातर्फको कदम मान्छिन्।
अरूलाई पनि अघि बढाउने प्रयास
निलमले आफ्ना समुदायका सयौं व्यक्तिलाई निःशुल्क मेकअप तालिम दिएकी छन्। उनले “निलम्स रन–वे” नामक फेसन कार्यक्रममार्फत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिभालाई अवसर दिन थालेकी छन्।
उनको विश्वास छ— समाज परिवर्तन गर्न केवल विरोध होइन, क्षमता र सिर्जनात्मकता पनि देखाउनुपर्छ।
“हाम्रो समुदायलाई दया होइन, अवसर चाहिएको हो,” उनी भन्छिन्।
सगरमाथाबाट फर्किएको सन्देश
सगरमाथा आरोहणपछि निलम अहिले धेरैका लागि प्रेरणाको पात्र बनेकी छन्। उनको यात्रा केवल हिमाल चढ्ने कथा होइन, आत्मपहिचान, संघर्ष, साहस र सम्मानको खोजीको कथा पनि हो।
समाजले फरक भनेर पन्छाएका मानिसहरू पनि अवसर पाए असम्भव लाग्ने उचाइ चुम्न सक्छन् भन्ने सन्देश उनले सगरमाथाको चुचुरोबाट दिएकी छन्।
