बाढीको असर पर्यटनमा गहिरिँदै, होटलका ३० प्रतिशतसम्म बुकिङ रद्द
काठमाडौं । मुख्य पर्यटकीय सिजन सुरु हुनै लाग्दा भोटेकोशी बाढी र त्यसपछि उत्पन्न प्राकृतिक विपद्को असर नेपालको पर्यटन व्यवसायमा देखिन थालेको छ। विदेशी पर्यटकले भ्रमण योजना परिवर्तन गर्न थालेपछि होटलका बुकिङ ३० प्रतिशतसम्म रद्द हुने अवस्था आएको व्यवसायीहरूले बताएका छन्।
बाढी तथा पहिरोले पर्यटन पूर्वाधारमा पुर्याएको क्षतिका कारण यस वर्षको मुख्य चारमहिने पर्यटकीय सिजन प्रभावित हुने अनुमान गरिएको छ। प्रारम्भिक आकलनअनुसार समग्र पर्यटन क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुन सक्ने अनुमान छ।
पाँचतारे होटलमा समेत यसको प्रभाव देखिएको छ। पाँचतारे होटल चेन म्यारिओटका सञ्चालक शशिकान्त अग्रवालका अनुसार भोटेकोशी बाढीपछि विदेशी पर्यटकका करिब २० देखि ३० प्रतिशतसम्म बुकिङ रद्द भएका छन्।
उनका अनुसार नेपाल आउने पर्यटकले सामान्यतया पहिले होटल बुक गर्ने र गन्तव्यमा कुनै किसिमको जोखिम वा समस्या देखिएमा बुकिङ रद्द गर्ने प्रवृत्ति हुन्छ। यसले तत्काल भ्रमणको तयारी गरिरहेका पर्यटकसँगै नेपाल भ्रमणबारे योजना बनाइरहेका सम्भावित पर्यटकलाई समेत प्रभावित गर्न सक्ने व्यवसायीको भनाइ छ।
चार जिल्लाका २०७ भन्दा बढी होटल प्रभावित
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखामा मात्रै २०७ भन्दा बढी होटल तथा रेस्टुरेन्टमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ।
होटल व्यवसायी महासंघ नेपालका अनुसार रसुवामा १०० भन्दा बढी, नुवाकोटमा ५५, धादिङमा ४० र गोरखामा १२ वटा होटलमा क्षति पुगेको छ।
नुवाकोटका तीन र धादिङका पाँच होटल आंशिक रूपमा क्षतिग्रस्त भए पनि अन्य १९९ होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको महासंघको तथ्यांकमा उल्लेख छ। प्रभावित होटलमा करिब २ हजार १७० कोठा रहेको बताइएको छ।
महासंघ अध्यक्ष शंकर भण्डारीले यो प्रारम्भिक विवरण मात्र भएकाले थप तथ्यांक संकलनसँगै क्षतिको आकार बढ्न सक्ने बताए।
उनका अनुसार बाढीले होटल तथा पर्यटन पूर्वाधारमा क्षति पुर्याउनुका साथै त्यस क्षेत्रमा काम गर्ने सयौँ मानिससमेत बेपत्ता भएका छन्। लामो समय लगाएर निर्माण गरिएको पर्यटन सेवा सञ्जालमा आएको अवरोधले व्यवसायमा दीर्घकालीन असर पर्न सक्ने उनको भनाइ छ।
नकारात्मक सन्देश हटाउनु मुख्य चुनौती
नेपाल पर्यटन बोर्डका एक सदस्यका अनुसार यो सिजन करिब ३० प्रतिशतसम्म बुकिङ रद्द हुन सक्ने प्रारम्भिक अनुमान छ। त्यसबाट पर्यटन क्षेत्रमा ठूलो आर्थिक असर पर्ने देखिएको छ।
उनका अनुसार विपद्पछि अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नेपाल असुरक्षित गन्तव्य भन्ने सम्भावित सन्देशलाई चिर्न तत्काल सकारात्मक प्रचार आवश्यक छ। साथै पर्यटक आकर्षित गर्न नयाँ प्रवर्द्धनात्मक कार्यक्रम र व्यावसायिक प्याकेज ल्याउने तयारी भइरहेको छ।
तर कुन क्षेत्रमा कति क्षति पुग्यो भन्ने विस्तृत अध्ययन अझै सम्पन्न भइसकेको छैन।
सडक अवरुद्ध हुँदा हवाई यात्रामा चाप
बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि तत्काल हवाई यात्रामा भने चाप बढेको छ। सडकबाट यात्रा गर्न नसक्ने अवस्था हुँदा बाध्यताका कारण हवाई सेवा प्रयोग गर्ने यात्रु बढेका हुन्।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विदेशी पर्यटकले आगामी पर्यटकीय सिजनका बुकिङ रद्द गर्न थालेको जानकारी आइरहेको छ। सडकमार्ग खुलेपछि वास्तविक पर्यटकीय मागको अवस्था स्पष्ट हुने उनको भनाइ छ।
बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी पनि अहिले देखिएको हवाई यात्रुको चापलाई पर्यटक आगमनसँग मात्र जोड्न नमिल्ने बताउँछन्। सडक अवरुद्ध भएका कारण प्रभावित क्षेत्रतर्फ जाने यात्रु हवाई सेवातर्फ आकर्षित भएकाले अहिले उडानमा दबाब देखिएको उनको भनाइ छ।
पोखरा र सौराहामा पनि चहलपहल कमजोर
पर्यटकीय सिजन नजिकिँदै गए पनि काठमाडौं बाहिरका प्रमुख गन्तव्यमा अपेक्षित चहलपहल देखिएको छैन। चितवनको सौराहा, पोखरालगायत पर्यटकीय क्षेत्रमा समेत पर्यटकको उपस्थिति कमजोर रहेको व्यवसायीहरूले बताएका छन्।
बाढी र पहिरोका कारण सडक तथा अन्य पूर्वाधारमा पुगेको क्षतिले गन्तव्यसम्म पुग्ने पहुँच प्रभावित भएको छ। पर्यटन व्यवसायीहरू भने विपद्को नकारात्मक प्रभाव कम गर्न अन्तर्राष्ट्रिय बजारमा तत्काल सकारात्मक सन्देश पुर्याउनुपर्नेमा जोड दिइरहेका छन्।
