फेरि अर्को जहाज ‘टर्बुलेन्स’मा, किन हुन्छ ‘टर्बुलेन्स’ ?

टुरिजमफेस
काठमाडौं । भारतको राजधानी दिल्लीबाट श्रीनगर जाँदै गरेको इन्डिगो एअरलाइन्सको जहाज टर्बुलेन्समा परेको छ । जहाज टर्बुलेन्समा परेपछि आपतलकालीन अवतरण गरियो । २२७ यात्रु र क्रु सदस्यहरू रहेको जहाज टर्बुलेन्समा पर्दा जहाजको अगाडिको भाग ‘नोज कोन’ भाँचिएको छ । तर जहाजमा रहेका सबै यात्रु सुरक्षित छन् ।
इन्डिगोले प्रेस विज्ञप्ति जारी गर्दै यात्रुहरूले उडानको क्रममा अचानक परेको टर्बुलेन्सको सामना गर्नुपरेको जनाएको छ । ‘फ्लाइट र केबिन क्रुले सम्पूर्ण प्रोटोकल अनुसार व्यवहार गरे र सुरक्षित रूपमा श्रीनगरमा जहाज अवतरण गराइयो,’ विज्ञप्तिमा भनिएको छ, ‘एयरपोर्टको टोलीले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दियो र उनीहरूको आवश्यक देखभाल गरिएको छ ।’
यसकारण जहाज टर्बुलेन्समा पर्छन्
टर्बुलेन्स भनेको हावा अनियमित रूपमा बग्दा विमान हल्लिने अवस्था हो । जहाज टर्बुलेन्समा पर्नुको मुख्य कारण वायुमण्डलीय अवस्था हो । आकाशमा विभिन्न उचाइमा हावाको गति र दिशा फरक हुन सक्छ । जब विमान ती क्षेत्रमा पुग्छ, तब अचानक हावाको तीव्रता परिवर्तन हुन्छ र विमान हल्लिन्छ । त्यस्तै उच्च उचाइमा तीव्र गतिमा हावा बग्दा र विमानले त्यसलाई पार गर्दा टर्बुलेन्स हुन सक्छ । कहिलेकाही ठूला बादल र आँधीबेहरीले हावामा अस्थिरता ल्याउँछ । यस्तो बेलामा पनि विमान अप र डाउनको अवस्थामा पुग्छ ।
टर्बुलेन्स कत्तिको खतरनाक हुन्छ ?
सामान्यतया टर्बुलेन्सले यात्रुहरूलाई असजिलो महसुस भए पनि विमानका लागि संरचनागत जोखिम धेरै कम हुन्छ । तथापि, सीट बेल्ट नलगाएको यात्रुहरूलाई समस्या हुनसक्छ । कतिपय अवस्थामा यात्रुहरू डरैडरमा मर्न पनि सक्छन् ।
टर्बुलेन्समा परेको इन्डिगो एअरमा यात्रा गरिरहेकी तृणमूल कांग्रेसकी सांसद सागरिका घोषले मृत्यु एकदम नजिक आइसकेको अनुभूति भएको बताइन् । उनले भनिन्, ‘जीवन सकिएको जस्तो लाग्यो । मानिसहरू चिच्याइरहेका थिए, प्रार्थना गरिरहेका थिए ।’ सामाजिक सन्जालमा भाइरल भिडियोमा तीव्र झट्काका कारण केबिनभित्र राखिएका सामानहरू खस्न थालेका, यात्रुहरू चिच्याइरहेका, क्रुले सीट बेल्ट लगाउन निर्देशन दिइरहेका आवाज सुनिन्छन् । यस्तो अवस्थामा जहाजको सुरक्षित अवतरण गराएकोमा पाइलटको प्रशंसा गरिएको छ । एजेन्सीको सहयोगमा