संसदमा जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान

टुरिजमफेस
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गरेकाछन् ।
संसद्को आजको बैठकमा उनीहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा यस्ता समस्या समाधान हुने गरी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए ।
आजको विशेष समयमा सांसद ठाकुरप्रसाद गैरेले वर्षाको समयमा मधेसमा सुक्खा क्षेत्र घोषणा गर्नुपर्ने अवस्था आइपरेको उल्लेख गर्दै मौसमी प्रतिकूलतासँग जुध्न योजना ल्याउनुपर्नेमा जोड दिए । कहिले कृषकका लागि मलको अभाव त कहिले बीउको अभाव छ । सिँचाइको पनि अभाव छ । यी समस्या समाधान गरेर कृषकलाई प्रोत्साहन दिने नीति ल्याउन आवश्यक छ”, उनले भने ।
उनले केही सांसदहरुले निरन्तर संसद् बहिष्कार गरिरहेको उल्लेख गर्दै उक्त समस्याको समाधान निकाल्न आग्रह गरे ।
उनले शिक्षा विधेयक पास गर्न ढिलाइ भइसकेको भन्दै समयमा नै विधेयक पास गर्नुपर्ने सुझाव दिए । सांसद् गैरेले जलवायु परिवर्तनका कारण पर्यटन, जलविद्युत्, कृषि क्षेत्र प्रभावित भइरहेका भन्दै जलवायु न्यूनीकरण तथा अनुकूलनको कानुन बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम्तीमा ८५ प्रतिशतसम्म पुर्याउनेगरी काम गर्न सरकारलाई सुझाव दिँदै, यसका लागि सांसदले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
सांसद सीताकुमारी रानाले दैलेखमा लामो समयदेखि बँदेलले गर्दा कृषि उपज नष्ट हुने समस्या भोगिरहेको बताइन् । “यसको आक्रमणबाट घाइते पनि भएका छन्, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन आवश्यक छ । यो समस्याको बारेमा ध्यानाकर्षण गरिए पनि सुनुवाइ भएको छैन । बँदेलबाट कृषकको बाली नष्ट हुने कुराको रोकथामका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सांसद रानाले चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा प्राकृतिक ग्यास प्रमाणित भएको र मिथेन ग्यासको भण्डार रहेको उल्लेख गरिन् ।
सांसद भानुभक्त जोशीले नेपालमा गाँजाको उपयोगका सम्बन्धमा पर्याप्त अनुसन्धान गरेर आवश्यकताका आधारमा उत्पादन गर्न सकेमा औषधिजन्य पदार्थका रूपमा प्रयोग गर्न सकिने बताए ।