हिमाली गोठमा पुर्ख्यौली पेसा, चौंरी र भेडापालनमै रमाउँदै गोठाला
पाँचथर। हिमालका लेकाली खर्क, चिसो हावा र कठिन भौगोलिक परिस्थितिबीच पाँचथर र ताप्लेजुङका गोठालाहरू पुर्खाले अँगालेको पशुपालन पेसालाई निरन्तरता दिइरहेका छन्। याक, चौंरी र भेडापालनबाट दूध, घ्यु, छुर्पी, चिज, ऊन तथा मासु उत्पादन गर्दै उनीहरूले परम्परागत पेसालाई आम्दानीको माध्यम बनाएका छन्।
सानै उमेरदेखि गोठमा रमाएका कतिपय पशुपालकका लागि यो पेसा पुर्खाको विरासत मात्रै होइन, जीविकोपार्जनको आधारसमेत बनेको छ। यद्यपि, कठिन जीवनशैली, परिवारबाट टाढा बस्नुपर्ने बाध्यता र नयाँ पुस्ताको घट्दो आकर्षणले परम्परागत गोठ संस्कृतिको भविष्यबारे चिन्ता पनि बढाएको छ।
ताप्लेजुङको कालीखोका क्षेत्रमा गोठ सञ्चालन गर्दै आएका भरत बानियाँ ११ वर्षकै उमेरमा बुवासँगै गोठ जान थालेका थिए। गोठमा एक दशकभन्दा बढी समय बिताइसकेका उनी अहिले चौरीघ्याङ क्षेत्रमा ‘डि गोठ’ सञ्चालन गरिरहेका छन्।
उनको गोठ भारतको सिक्किम सीमाक्षेत्र नजिक छ। घरबाट गोठ पुग्न उनलाई एक दिन लाग्छ भने अरूलाई त्यहाँ पुग्न दुई दिनसम्म लाग्ने गरेको छ।
‘पहिले गाई गोठ थियो, अहिले डि गोठ छ। बुवाहरूबाट सिक्दै हिमालमै काम गर्न थालियो,’ बानियाँ भन्छन्, ‘विदेश जानुभन्दा यहीँ दुःख गरौँ भनेर मेहनत गरिरहेको छु।’
उनका अनुसार चौंरीपालनमा मौसमअनुसार कामको चाप फरक हुन्छ। सिजनमा बिहानैदेखि दूध दुहुने, घ्यु र छुर्पी बनाउने तथा पशुको हेरचाह गर्ने काममा दिन बित्छ। सिजन सकिएपछि भने घर फर्किने गरिन्छ।
चौंरीको दूधदेखि छुर्पी र घ्युसम्म
पाँचथरको पाङदुवामा गोठ सञ्चालन गर्दै आएका टार्जन खुदाङ बिहानै चौंरी दुहुने काममा व्यस्त हुन्छन्। चौंरीको दूधबाट घ्यु र छुर्पी तयार पार्नु उनको दैनिक काम हो।
खुदाङका अनुसार उनको गोठमा करिब ५० वटा चौंरी छन्। यसबाट हुने आम्दानी सन्तोषजनक भए पनि परिवारबाट टाढा बस्नुपर्ने र कठिन परिस्थितिमा काम गर्नुपर्ने समस्या छ।
‘बुवाहरूको सिको गर्दै गोठ पालेका हौँ। आम्दानी राम्रै हुन्छ, तर यहाँ धेरै दुःख छ र घरभन्दा टाढा बस्नुपर्छ,’ उनी भन्छन्।
चौंरीपालनबाट दूध, घ्यु, छुर्पी र चिज उत्पादन हुन्छ। बजारको माग तथा स्थानीय अवस्थाअनुसार उत्पादन बिक्री गरेर गोठालाहरूले आम्दानी गर्दै आएका छन्।
ताप्लेजुङको सिदिङ्वा क्षेत्रमा पशुपालन गर्दै आएका भीम भण्डारी पनि बाल्यकालदेखि नै यो पेसामा संलग्न छन्। केही वर्ष गाउँमै डेरी सञ्चालन गरेका उनी पुनः गोठमै फर्किए।
‘डेरीमा भन्दा यतै फाइदा हुने रहेछ,’ भण्डारीको अनुभव छ।
विदेशबाट फर्किएर हिमाली गोठमा
वैदेशिक रोजगारीका लागि आठ वर्ष कतार बसेर फर्किएका पाँचथरको फालेलुङका नवीन साउदेनले पनि चौंरीपालनलाई आफ्नो पेसा बनाएका छन्। उनी अग्रजले अपनाएको परम्परालाई समयअनुसार परिवर्तन गर्दै अघि बढ्नुपर्ने बताउँछन्।
उनका अनुसार अहिले चौंरीको दूध चिज उत्पादनका लागि बिक्री गरिन्छ। यसले परम्परागत पशुपालनलाई बजारसँग जोड्ने अवसर दिएको छ।
‘अहिले दूध चिजका लागि बेच्छौँ,’ साउदेन भन्छन्, ‘अब आउने पुस्ताले यो पेसालाई निरन्तरता दिने हो कि होइन भन्नेमा शङ्का छ।’
हिमाली गोठमा बिहान घाम झुल्केदेखि रातिसम्म काम गर्नुपर्छ। पशु चराउने, दूध दुहुने, उत्पादन तयार गर्ने र चौपायाको हेरचाह गर्ने जिम्मेवारी गोठालाकै हुन्छ। चिसो मौसम र दुर्गम भूगोलले उनीहरूको दैनिकी थप चुनौतीपूर्ण बनाउँछ।
यद्यपि, अहिले विभिन्न स्थानमा मोबाइल फोन चल्न थालेपछि घरपरिवारसँग सम्पर्क गर्न र आवश्यक सूचना लिन केही सहज भएको पशुपालक बताउँछन्।
भेडापालनमा पनि उस्तै मेहनत
चौंरीसँगै पूर्वी पहाडी तथा हिमाली क्षेत्रमा भेडापालन पनि परम्परागत जीविकोपार्जनको महत्त्वपूर्ण आधार हो। भेडापालकले ऊन, मासु र पाठापाठी बिक्री गर्छन् भने कतिपयले घ्यु पनि उत्पादन गर्छन्।
भेडापालनमा संलग्न हेमकुमार राईका अनुसार भेडी गोठ मौसमअनुसार एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्छ। असारमा माथिल्लो क्षेत्रमा लगिएका भेडालाई जाडो सुरु हुन थालेपछि तल्लो क्षेत्रमा झारिन्छ।
‘अहिले धेरै भेडी गोठ घटिसकेका छन्। दुःख पनि धेरै छ। हामी चार जना मिलेर भेडा पालिरहेका छौँ,’ राई भन्छन्।
भेडी गोठ सञ्चालन गर्न चरन क्षेत्रको उपलब्धता, मौसमको अवस्था र पशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। नियमित रूपमा स्थान परिवर्तन गर्नुपर्ने भएकाले यो पेसामा संलग्न व्यक्तिको जीवनशैली पनि घुम्ती प्रकृतिको हुन्छ।
पाँचथरमा ४४ र ताप्लेजुङमा ९५ गोठ
कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, ताप्लेजुङ, इलाम र पाँचथरका विभिन्न क्षेत्रमा चौंरीपालन हुँदै आएको छ। पाँचथरको याङवरक र फालेलुङ गाउँपालिका चौंरीपालनका प्रमुख क्षेत्र हुन्।
उपलब्ध विवरणअनुसार पाँचथरमा ४४ वटा गोठमा करिब एक हजार ३५० याक तथा चौंरी छन्। ताप्लेजुङका मैवाखोला, मेरिङ्देन, मिक्वाखोला, फक्ताङ्लुङ, सिरिजङ्घा र सिदिङ्वा गाउँपालिका तथा फुङलिङ नगरपालिकामा पनि याक र चौंरीपालन गरिन्छ।
ताप्लेजुङमा करिब ६ हजार याक तथा चौंरी रहेको र ९५ वटा गोठ सञ्चालनमा रहेको बताइएको छ। नेपालका २६ जिल्लामा याक तथा चौंरीपालन हुँदै आएको विवरणमा उल्लेख छ।
परम्परा जोगाउन नयाँ पुस्ताको साथ आवश्यक
हिमाली गोठमा पशुपालनले स्थानीय उत्पादन, रोजगारी र परम्परागत ज्ञानलाई जोगाउन योगदान पुर्याएको छ। गोठ सञ्चालकहरूले आफ्ना छोराछोरीलाई सहरमा पढाउने गरेका छन् भने गोठमा काम गर्न अन्य श्रमिकसमेत संलग्न छन्।
तर, कठिन श्रम, दुर्गम क्षेत्रमा बस्नुपर्ने अवस्था र नयाँ पुस्ताको बदलिँदो आकांक्षाले यो पेसालाई निरन्तरता दिन चुनौती सिर्जना गरेको छ।
चौंरी तथा भेडाबाट उत्पादित वस्तुको बजार विस्तार, उचित मूल्य, पशु स्वास्थ्य सेवा, चरन क्षेत्रको संरक्षण र आधारभूत सुविधामा सुधार गर्न सके परम्परागत पशुपालनलाई थप व्यवस्थित बनाउन सकिन्छ।
पुर्खाले सिकाएको सीप र अनुभवमा आधारित हिमाली पशुपालन आज पनि धेरै परिवारको आम्दानीको स्रोत बनेको छ। यसलाई समयअनुसार व्यावसायिक र व्यवस्थित बनाउन सकिए परम्परागत गोठ संस्कृतिको संरक्षणसँगै स्थानीय अर्थतन्त्रमा समेत योगदान बढाउन सकिने देखिन्छ।
