धार्मिक पर्यटकले ‘अक्सिजन’ दिइरहेका छन् ठमेललाई

टुरिजमफेस
काठमाडौं । त्यसो त अहिले पर्यटन उद्योगका लागि अफ सिजन हो । त्यसैले सेप्टेम्बर सुरु नहुँदासम्म पर्यटन व्यवसायी नाफाको खोजी गर्दैनन् । तर होटल, रेष्टुरेन्टलगायतको नियमित खर्च, श्रमिकको पारिश्रमिक भने अफ सिजनमा पनि भुक्तान गर्नै पर्ने हुन्छ ।
अहिले काठमाडौंको पर्यटकीय स्थल भनेर चिनिने ठमेलको अवस्था पनि यस्तै छ । र, ठमेलका पर्यटन व्यवसायीलाई यही अप्ठेरोको अवस्थामा ‘अक्सिजन’ दिने काम भारतीय पर्यटकले गरिरहेका छन् । ‘साउन महिनामा पशुपति दर्शनका लागि आउने पर्यटकहरू ठमेलमा आउने भएकाले यतिखेर तिनै भारतीय पर्यटकको भरमा ठमेलको पर्यटन टिकिरहेको छ,’ ठमेलका पर्यटन व्यवसायी भवीश्वर शर्माले टुरिजमफेससँग भने ।
अफ सिजन भएकाले ठमेलका पर्यटन व्यवसायीले अहिले होटलको शुल्क पनि सस्तो गरेका छन् । होटलको शुल्क सस्तो गरिएका कारणले पशुपति दर्शनमा आएका भारतीय पर्यटक ठमेलतिर बस्ने गरेको व्यवसायी बताउँछन् । शर्माका अनुसार अहिले ठमेल क्षेत्रमा दैनिक २–३ हजार पर्यटक आइरहेकोमा तीमध्ये २५ प्रतिशत भारतीय हुन् । अफ सिजन भएकाले झन्डै आधा सस्तोमा पर्यटकले ठमेलमा कोठा पाइरहेका छन् ।
नेपालमा भदौ १५ देखि जेठसम्मको अवधिलाई पर्यटकीय सिजन मानिन्छ । पर्यटन व्यवसायीले यही सिजनमा आफ्ना व्यवसायबाट आम्दानी गर्छन् । वर्षको करिब ४ महिना होटल व्यवसायबाट सञ्चालन खर्चको मात्र जोहो गर्न सके व्यवसायी उपलब्धि ठान्छन् । ठमेलसँगै देशका विभिन्न स्थानमा भदौ १५ पछि तेस्रो मुलुकका पर्यटक आउँछन् । पछिल्लो समयमा निजी क्षेत्रको पर्यटन व्यवसायमा आकर्षण बढ्दै गएर व्यापक रूपमा लगानी गरिएको छ ।
होटल एशोसियसन नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार वर्षमा करिब ३६ लाख पर्यटकलाई आतिथ्यता प्रदान गर्नसक्ने होटलको क्षमता विस्तार भए पनि वर्षमा १२ लाख भन्दा बढी पर्यटक आउन सकेका छैनन् । नेपालमा पर्यटन क्षेत्रको प्रचुर सम्भावना भए पनि सही व्यवस्थापन र योजना हुन नसक्दा पर्यटन क्षेत्रले अपेक्षित लाभ लिन नसकेको शाहको भनाइ छ ।