चितवनमा बाघ–चितुवाको गतिविधि निगरानी गर्न सीसी क्यामरा र खोरको व्यवस्था
चितवन । चितवनका मानव बस्ती आसपास बाघ र चितुवाको आवतजावत बढ्न थालेपछि डिभिजन वन कार्यालयले आधुनिक निगरानी प्रणाली अपनाएको छ। वन्यजन्तुको गतिविधि पहिचान गर्न विभिन्न स्थानमा सीसी क्यामरा जडान गर्नुका साथै आवश्यक परे नियन्त्रणका लागि खोरसमेत राखिएको छ।
वन अधिकृत सुदीप हमालका अनुसार मानव बस्तीमा प्रवेश गर्ने बाघ तथा चितुवाको सुरक्षित अनुगमन र उद्धारलाई लक्षित गर्दै क्यामरा ट्र्यापिङ र खोर व्यवस्थापन सुरु गरिएको हो।
भरतपुर महानगरपालिका–१५ स्थित अविनास पोल्ट्री परिसरमा एउटा क्यामरासहित खोर राखिएको छ भने नजिकैको बाँसझ्याङ क्षेत्रमा अर्को क्यामरा जडान गरिएको छ। सोही क्रममा खोरमा परेको चितुवाको बच्चालाई उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पठाइएको छ।
वन कार्यालयका अनुसार क्यामरामा खिचिएका दृश्यले खोरमा बच्चा परेपछि माउ चितुवा अर्को बच्चासहित बाहिरै बसेको देखाएको थियो। त्यसपछि झाडी सफा गरिएसँगै माउ र अर्को बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरतर्फ लागेको अनुमान गरिएको छ। अहिले उक्त क्षेत्रमा पनि क्यामरा र खोर राखेर नियमित निगरानी भइरहेको छ।
यस्तै, भरतपुर–११ को आँपटारीस्थित विद्युत् सबस्टेशन क्षेत्रमा केही दिनअघि बाघ देखिएको सूचना प्राप्त भएपछि त्यहाँ पनि निगरानी क्यामरा जडान गरिएको छ। स्थानीयको एउटा बाख्रा बाघले मारेपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सुरक्षा निकाय र वन कार्यालयको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसपछि कार्यालय परिसरभित्र र प्रवेशद्वारमा क्यामरा राखिएको हो।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले तीनवटै संवेदनशील क्षेत्रमा क्यामरा र खोरको व्यवस्था गरिसकिएको जानकारी दिए। उनका अनुसार कुनै बाघ वा चितुवा खोरमा परेमा तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ।
वन्यजन्तु विज्ञहरूका अनुसार शारीरिक रूपमा कमजोर भएका वा बच्चा हुर्काइरहेका बाघ तथा चितुवा कहिलेकाहीँ जङ्गल छाडेर बस्ती नजिक आउने गर्छन्। जङ्गलभित्र अन्य वन्यजन्तुबाट बच्चा असुरक्षित हुन सक्ने जोखिम तथा सिकार गर्न कठिनाइ भएपछि उनीहरू घरपालुवा जनावरतर्फ आकर्षित हुने अवस्था देखिने गरेको छ।
वन कार्यालयले स्थानीयलाई सतर्क रहन, वन्यजन्तु देखिए तत्काल जानकारी गराउन तथा अनावश्यक रूपमा नजिक नजान आग्रह गरेको छ।
