जलवायु प्रभावित मुलुकबीच साझा धारणा बनाउन भदौमा हिन्दूकुश हिमालय संसदीय बैठक हुँदै

टुरिजमफेस
काडमाडौँ । नेपालले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) क्षेत्रअन्तर्गत पर्ने मुलुकहरुका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आयोजना गर्दैछ ।
सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजना तथा इसिमोडको प्राविधिक सहयोगमा आगामी भदौ २ र ३ गते सो हिन्दूकुश हिमालय क्षेत्रका देशहरु नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानसँग जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा बैठक हुन लागेको हो ।
यस क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दीगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको समितिका सभापति कुशुमदेवी थापाले जानकारी दिए ।
समितिले आज पत्रकार सम्मेलन गरी सभापति थापाले हिन्दूकुश हिमालय क्षेत्रमा रहेका देशहरूका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा सदस्यहरूसँग जलवायु परिवर्तन, वायु प्रदूषण र वातावरणका विषयमा बैठक आयोजना गर्न लागिएको बताए । वन तथा वातावरण, परराष्ट्र मन्त्रालयसँगको आवश्यक समन्वय र राष्ट्रपतिको प्रमुख आतिथ्यता तथा सभामुखको विशिष्ट आतिथ्यतामा बैठक आयोजना हुनेछ ।
सभापति थापाले विश्व समुदायले भोग्नुपरेका जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण जस्ता समस्या समाधानको खोजी गर्ने उद्देश्यले हिन्दूकुश राष्ट्रका सांसदहरुलाई एउटै मञ्चमा राखेर छलफल गर्नु यस बैठकको प्रमुख उद्देश्य रहेको उल्लेख गरे । राजनीतिक र संसदीय नेतृत्वलाई एकै ठाउँमा राखेर छलफल गर्दा प्राप्त हुने निष्कर्षलाई भावी दिनमा सम्बन्धित देशका जलवायु नीति तर्जुमा तथा जलवायु अनुकूलन, कार्बन उत्सर्जन न्यूनीकरण, क्षेत्रीय रणनीति तयार पारी कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उनको भनाइ छ ।
बैठक आयोजना गर्ने सम्बन्धमा समितिका सदस्य वीरबहादुर बलायरको संयोजकत्वमा प्राविधिक समिति गठन गरी समितिमा समितिका सदस्य, वन तथा वातावरण, परराष्ट्र मन्त्रालय, योजना आयोगका सदस्य तथा विषय विज्ञहरुले कार्य सम्पादन गरिरहेका छन् ।
समिति सदस्य एवं प्राविधिक समितिका संयोजक बलायरले समितिले सभामुखसँग परामर्श गरी गर्न लागेको बैठक काठमाडौँको सोल्टी होटलमा हुने जानकारी दिए ।