नेपाल पर्वतारोहण सङ्घको महासचिवमा शिवबहादुर सापकोटाको उम्मेदवारी

टुरिजमफेस
काडमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को महासचिव पदमा सगरमाथा आरोही शिवबहादुर सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।
एनएमएको आगामी भदौ ७ गते हुने निर्वाचनमा सापकोटाले महासचिवको उम्मेदवारी घोषणा गरेका हुन् । सन् २००९ देखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील सापकोटा हाल सगरमाथा आरोही सङ्घको महासचिव छन् । उनी एनएमएको एक कार्यकाल कार्यसमिति सदस्यमेत थिए ।
महासचिवका प्रत्यासी सापकोटाले हालसम्म हासिल गरेको पर्वतीय पर्यटनका बहुआयामिक पक्षलाई कार्यान्वयन गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए । यसअघि एनएमएको अध्यक्ष पदमा पर्यटन व्यवसायी त्रय कुलमान गुरुङ, फुर्वा ग्याल्जेन शेर्पा र टीकराम गुरुङले उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारप्रसारमा छन् ।
एनएमएका अध्यक्ष निमानुरु शेर्पाले नयाँ नेतृत्वका लागि सहमतिको प्रयास गरिए पनि सफल नभएकाले आगामी निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न नियमित प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।
तीनवर्षे कार्यकाल रहने एनएमएको निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २५ सदस्यीय कार्यसमिति चुनिनेछ । यसमा तीन सदस्य मनोनयन गर्ने व्यवस्था छ ।