पुलहाश्रम क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार थपिँदै, रावण पार्क निर्माण अन्तिम चरणमा

टुरिजमफेस
म्याग्दी । ऋषिहरूले तपस्या गरेको पवित्र तीर्थस्थलको रूपमा परिचित म्याग्दीको पुलस्त्य पुलहाश्रम क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार थपिँदै गएको छ ।
बेनी नगरपालिका–५ पछैमा अवस्थित पुलहाश्रममा रहेको मन्दिर परिसरमा प्रतिक्षालय, प्रवेशद्वार, पदमार्ग, घेरावार लगायतका पूर्वाधार निर्माण भएका छन् ।
पौराणिक ऋषि पुलत्स्य र पुलह ऋषिले तपस्या गरेको पवित्र तपोभूमि भएकाले यस क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि पर्यटन पूर्वाधार निर्माणलाई जोड दिइएको छ । श्रीमद्भागवत महापुराणको पञ्चमस्कन्ध आठौँ अध्यायमा यस क्षेत्रमा पुलस्त्य र पुलह ऋषिले तपस्या गरेको उल्लेख छ ।
पछैमा रहेको हवनकुण्डमा हवन गरेर शेष रहेको चरु अझै पाइने भएकाले पुलस्त्य र पुलह ऋषिले पहिलो पटक होम गरेको ऐतिहासिक तपोभूमिको रूपमा यस क्षेत्रको महत्व रहेको पण्डित भीमनाथ पराजुलीले बताए । पुलहाश्रमसँगै यस क्षेत्रमा अन्य ओझेलमा परेका र पत्ता लगाउन नसकिएका थुप्रै तीर्थस्थल रहेकाले यसको अन्वेषण गरी महत्व र महिमालाई बाहिर ल्याउनुपर्ने उनको भनाइ छ ।
पछैमा रहेको हवन कुण्डमा रहेको चरुलाई हावाले नष्ट नगरोस् भन्ने उद्देश्यले ऋषिहरूले विशाल शिलाले त्यसलाई सुरक्षित गरेको किम्बदन्ती रहेको पुलस्त्य पुलहाश्रम क्षेत्र विकास समितिका उपाध्यक्ष तेजप्रकाश बानियाँले बताए ।
उनका अनुसार धार्मिक, ऐतिहासिक महत्व बोकेको र प्राकृतिक रूपमा मनोरम ठाउँ भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचार प्रसारमार्फत पर्यटन विकासमा जोड दिइएको छ ।
ऐतिहासिक महत्व बोकेको पुलहाश्रम क्षेत्रको धार्मिक पर्यटन विकासका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पछिल्लो पटक पछैमा मन्दिर पुननिर्माण पश्चात प्रवेशद्वार, मौलिक पदमार्ग, घेरावार, प्रतिक्षालयलगायत भौतिक संरचना निर्माण गरिएको छ ।