नेपालको पर्यटन प्रवर्द्धन गर्दै टिकटक, पर्यटन बोर्डसँग सम्झौता

समझदारी पत्र आदानप्रदान गरिँदै ।
टुरिजमफेस
काठमाडौं । प्रत्येक महिना करिब एक अर्बले प्रयोग गर्ने गरेको टिकटक प्लेट फर्मले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने भएको छ । यसका लागि नेपाल पर्यटन बोर्ड र टिकटकबीच सम्झौता भएको छ । सम्झौता अननुसार नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्याइनेछ ।
समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले यो सहकार्यले नेपालको पर्यटनको पहलमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरे । ‘यो केवल एउटा सम्झौतामात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो । टिकटक जस्तो विश्वव्यापी प्लेटफर्ममार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकमाझ पुर्याउने अवसर पाएका छौं । यो अभियानले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ,’ पाण्डेले भने ।
मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डको रूपमा उल्लेख गर्दै यस्तो सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास पनि व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्झौतालाई महत्वपूर्ण भन्दै नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्याउने लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल पुग्ने बताए । उनले यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभई स्वदेशमा रहेका युवाहरूलाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर मिल्ने बताए ।
जोशीले अन्तर्राष्ट्रिय स्तरका ट्राभल क्रिएटरलाई नेपालमा आमन्त्रित गरी हिमाल, ताल, मठ–मन्दिरदेखि ग्रामीण होमस्टेसम्म पुर्याउने बताउँदै उनीहरूले छोटा भिडियोमार्फत नेपालको पर्यटकीय गन्तव्यबारे डिजिटल संसारमार्फत् प्रचारप्रसार गर्ने बताए ।
त्यसैगरी टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत् हरेक दिन करोडौं मानिसहरूले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकोले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालजस्तो हिमाल, अध्यात्म, विविध संस्कृतिले भरिपूर्ण देशलाई छोटा भिडियोमार्फत संसारभर पुर्याउन पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै यो सहकार्यले नेपाललाई विश्वका पर्यटकहरूको ‘बकेटलिस्ट’मा थप बलियो गरी स्थापित गर्ने अपेक्षा गरे । उनले हिमालयदेखि तराईका नदी, उत्सवदेखि खानपान र सांगीतिक परम्परा सबैलाई छोटा भिडियोमा उतारेर विश्वभर देखाइने बताए ।
टिकटकका प्रकाशन व्यवस्थापक उमाइस नवीदले यस समझदारी अन्तर्गत विश्वभरका क्रिएटरलाई नेपाल आमन्त्रण गर्ने र उनीहरूले यहाँका अनुभवलाई भिडियोमा डिजिटल संसारमा राख्ने जानकारी दिए । उनले भने, ‘यसले करोडौं मानिसलाई नेपाल प्रत्यक्ष भ्रमण गर्न प्रेरित गर्नेछ । यो अभियानको तीन आधारस्तम्भ छन्– नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा र स्थानीय समुदायसँगको आत्मीयता ।’
साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत् नेपालका कथा सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली कन्टेन्ट क्रिएटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतिकरणबारे तालिम दिइनेछ ।
टिकटसँग बोर्डले गरेको यो समझदारी अनुसार सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन हुनेछ ।
समझदारी पत्र आदानप्रदान गरिँदै ।