देउवाको प्रश्न– पैसाको बलमा पार्टी किनबेच गर्ने हो?
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासँग जोडिएको विवादमा ठूलो रकम लेनदेन भएको भनिएको दाबीप्रति प्रश्न उठाएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग जोडिएको भनिएको अडियोमा उल्लेख भएको १८ करोड रुपैयाँको प्रसंग उठाए।
उनले १८ करोड रुपैयाँजस्तो ठूलो रकम दिएर पार्टी नै किन्न खोजिएको दाबी सार्वजनिक भएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए।
‘१८ करोड भनेको छ, त्यो सानो रकम हो र ? त्यत्रो पैसा दिएर पार्टी किनिदियो भन्ने कुरा आएको छ,’ देउवाले प्रश्न गर्दै भने, ‘अब पैसामा पार्टी बेच्ने हो?’
पार्टीको आधिकारिकतासम्बन्धी विवादका क्रममा निर्वाचन आयोगका तत्कालीन पदाधिकारीले आफूलाई सुरक्षा जोखिम रहेको कारण निर्णय प्रभावित भएको बताएको विषय पनि सञ्चारमाध्यमबाट आफूले थाहा पाएको देउवाले उल्लेख गरे।
उनका अनुसार त्यसबेला नेपाली कांग्रेसले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो। देउवाले उक्त घटनामा आर्थिक चलखेल भएको हुनसक्ने संकेतसमेत गरे।
पार्टीको वर्तमान नेतृत्वसँग सम्बन्धित विवाद सर्वोच्च अदालतसम्म पुगेको विषयमा पनि देउवाले आफ्नो धारणा राखे। आफू विदेशमा रहेका बेला विशेष महाधिवेशन गरिएको र आफूलाई सभापतिबाट औपचारिक रूपमा हटाइएको अवस्था नरहेको उनको दाबी छ।
‘म विदेशमा भएको समयमा विशेष महाधिवेशन गरियो। पार्टी सभापति म नै छु, मलाई हटाइएको पनि छैन र मैले महाधिवेशन गराएको पनि होइन,’ देउवाले भने, ‘त्यही कारण हामी अदालत पुगेका हौं।’
देउवाले पार्टीको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादको समाधान कानुनी प्रक्रियाबाट हुने बताए।
