अन्नपूर्ण संरक्षण क्षेत्रमा मनसुनका कारण घटे पर्यटक

टुरिजमफेस
गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा मनसुनका कारण पर्यटक घटेका छन् ।
गत असारयता पर्यटक आगमनमा कमी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । असारमा १९ हजार ७४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । साउनमा जम्मा ११ हजार ८२४ पर्यटक भित्रिएको आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिए ।
मनसुन सुरु हुनुअघि गत जेठमा ३१ हजार ९५५ पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । गत वर्षको तुलनामा भने यो साउनमा पर्यटक बढी आएको उनको भनाइ छ । गत वर्ष साउनमा जम्मा पाँच हजार ७१० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । मनसुनयाम पर्यटन क्षेत्रका लागि बेमौसम मानिन्छ ।
असोज लागेपछि पदयात्राका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने आयोजना प्रमुख डा कडरियाले बताए । पछिल्लो समय कास्कीको कोरी, बागलुङको ढोरपाटनलगायत ठाउँमा मनसुन पदयात्राका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
असारदेखि भदौसम्मको यामलाई पर्यटन क्षेत्रका लागि ‘अफसिजन’का रूपमा लिने गरिएको छ । अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्मको समय उत्तम मानिन्छ । सोही याममा पर्यटक आगमन पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ । गत आवमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।