लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कार्यालय खोल्दै नेपाल पर्यटन बोर्ड

टुरिजमफेस
काठमाडौं । नेपाल पर्यटन बोर्डले एकै पटक दुई प्रदेशमा कार्यालय खोल्ने अन्तिम तयारी गरेको छ । लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा कार्यालय स्थापना गर्र्नका लागि कार्यकारी समितिले निर्णय गरिसकेको छ । जसका लागि ११ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कार्यालय खोल्ने निर्णय गरेपछि बोर्डले ती प्रदेशमा हुने पर्यटनसँग सम्बन्धित सबै काम हाललाई रोकेको बोर्डका एक अधिकारीले बताए ।
उनका अनुसार कार्यालय स्थापना भएलगत्तै ती प्रदेशमा हुने सबै काम तिनै कार्यालयले गर्नेछन् ।
काठमाडौंको भृकुटीमण्डपमा मुख्य कार्यालय रहेको बोर्डले हालसम्म पोखरामा मात्र कार्यालय स्थापना गर्न सकेको छ । सबै प्रदेशमा कार्यालय स्थापनाको आवश्यकता रहे पनि कोशी, मधेश र कर्णाली प्रदेशमा भने अझै पनि कार्यालय स्थापना गर्ने निर्णय हुन सकेको छैन ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय भए पनि ती कार्यालय ती प्रदेशअन्तर्गतका कुन जिल्लामा रहन्छन् भन्नेबारे यकिन भइनसकेको ती अधिकारीले बताए । लुम्बिनीमा बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज तथा गौतम बुद्ध जन्मस्थल पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य हुन् भने सुदूरपश्चिममा खप्तड, बडीमालिका, शुक्लाफाँटा पर्यटकले रुचाएका गन्तव्य हुन् ।
ती प्रदेश भारतसँग जोडिएका कारण भारतीय पर्यटकको आगमन बढ्दो छ । मुलुक संघीयतामा गइसकेपछि बोर्डले पहिलोपटक काठमाडौंबाहिर कार्यालय खोल्ने तयारी गरेको हो । सन् १९९९ मा स्थापना भएको बोर्डले पोखरा कार्यालयnसन् २००७ मा खोलेको थियो । पोखरा कार्यालयले गण्डकी प्रदेशमा हुने पर्यटनसँग सम्बन्धित गतिविधि गर्ने गर्छ ।