पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी

पर्वतारोहण संघको अध्यक्षमा विजयी शेर्पा
टुरिजमफेस
काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा (फुर्वा ग्याल्जेन) निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई फराकिलो मतान्तरले पराजित गरे ।
शेर्पाले ३४२ मत ल्याउँदा गुरुङले २८८ मत ल्याउन सके । निर्वाचन अघि दुवै समूह तीव्र प्रतिस्पर्धामा थिए । सानै उमेरदेखि पर्यटकको भरिया बनेका शेर्पा पछिल्लो समयमा भने व्यवसायी बनेका छन् । यतिखेर उनीसँग हेलिकोप्टर कम्पनी, ट्राभल तथा ट्रेकिङ कम्पनीको साथै होटल सञ्चालनमा छन् ।
निर्वाचनमा पराजित गुरुङलाई नेपाली कांग्रेस, नेकपा एमालेको समर्थन थियो भने शेर्पालाई इतरसमूहले समर्थन गरेको थियो । यद्यपि कांग्रेस, एमाले भनेर चिनिएकै कतिपय पर्यटन व्यवसायीले उनले मतदान गरेको पाइएको छ ।
वरिष्ठ उपाध्यक्षमा पनि शेर्पा समूहकै ईश्वर पौडेल विजयी भएका छन् । प्रथम उपाध्यक्षमा भने गुरुङ समूहका मिङ्मा ग्याबो शेर्पा ३५९ मत ल्याएर विजयी भए । ३६८ मत प्राप्त गरी द्वितीय उपाध्यक्षमा विजयी भएका बोधराज भण्डारी पनि शेर्पा समूहकै हुन् । महासचिवमा पनि शेर्पा समूहकै राजेन्द्रबहादुर लामा विजयी भए । उनले ३१८ मत प्राप्त गरे ।
त्यस्तै सचिवमा शेर्पा समूहकै चन्दन थापा ३५८ मत प्राप्त गरी विजयी हुँदा कोषाध्यक्षमा शेर्पा र गुरुङ समूहका उम्मेदवारहरू ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबरी मत प्राप्त गरे । दुवैले बराबरी अर्थात ३०४ मत प्राप्त गरेकाले तीन वर्षे कार्यकाल आधा आधा गर्ने सहमति भएको छ ।
अधिकांश सदस्यहरू शेर्पा समूहबाटै विजयी भएका छन् । सदस्यमा विजयी हुनेमा मुलाल गुरुङ (३५१), थुप्देन शेर्पा (३२६), देण्डी शेर्पा (३११), निशा भोटे (३०७), विक्रम कार्की (३०६), केदार न्यौपाने (३०२), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), गोकुल थापा (२८८), दिकी शेर्पा (२८८) र माधवकुमार धमला (२७८) छन् । निर्वाचनमा मतदाताले समूह भन्दा पनि व्यक्तिलाई छनोट गरेको विश्लेषण गरिएको छ ।
पर्वतारोहण संघको अध्यक्षमा विजयी शेर्पा