आन्दोलनपछि घटे पर्यटक, दसैँमा सुनसान बन्दीपुर
टुरिजमफेस
तनहुँ । विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने पर्यटक उल्लेख्य घटेका छन् ।
बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि बन्दीपुर भ्रमण वर्ष, २०२५ घोषणा गरी अगाडि बढिरहेको सन्दर्भमा पछिल्लो अवस्थापछि पर्यटन व्यवसायी अन्योलमा छन् । दसैँ सुरु भइसक्दा पनि बन्दीपुरमा पर्यटकको आगमन बढ्न नसकेको बन्दीपुर भ्रमण वर्ष, २०२५ का सचिवालय संयोजक एवं पर्यटन व्यवसायी वैशबहादुर गुरुङको भनाइ छ ।
उनले भने, “दसैँ तिहारजस्ता पर्वमा बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय हो । तर यस वर्षको दसैँ तिहारका लागि बन्दीपुरको अवस्था जेनजीको प्रदर्शनपछि बदलिएको छ ।”
दसैं तिहारमा अघिल्लो वर्ष उल्लेख्य मात्रामा पर्यटक आउने गरेपनि यस वर्ष भने भएको बुकिङ समेत रद्द हुन थालेको उनको भनाइ छ । उनले भने, “दसैँका लागि भएका बुकिङ रद्द हुन थालेका छन्, कोभिडपश्चात् तङ्ग्रिदै गरेको पर्यटनमा फेरि अहिले आएर धक्का लागेको महसुस गरेका छौ ।”
बन्दीपुर गाउँपालिकाले केही समय अगाडिमात्रै काठमाडौँमा बन्दीपुर भ्रमण वर्षको भव्य प्रचारात्मक कार्यक्रम गरेको थियो । त्यसले यहाँको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास थियो । तर जेनजी प्रदर्शनपश्चात् परिस्थति बदलिएको गुरुङको भनाइ छ ।
