हिमालदेखि ध्यानस्थलसम्मः नेपाललाई ‘वेलनेस डेस्टिनेसन’ बनाउने सरकारी योजना
काठमाडौं । नेपालले पर्यटनको परम्परागत दायरा विस्तार गर्दै योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र आध्यात्मिक अनुभवलाई जोडेर आफूलाई अन्तर्राष्ट्रिय वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने तयारी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय वेलनेस पर्यटन रणनीति २०२६–२०३५ तथा पाँच वर्षे रणनीतिक कार्ययोजना २०२६–२०३० ले नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदालाई पर्यटनसँग जोडेर नयाँ बजार सिर्जना गर्ने लक्ष्य अघि सारेको छ।
नेपालमा प्राचीनकालदेखि अभ्यास हुँदै आएका योग, ध्यान, आयुर्वेद, जडीबुटी तथा विभिन्न साधना पद्धतिलाई अब व्यवस्थित र व्यावसायिक पर्यटन उत्पादनका रूपमा विकास गर्ने रणनीति लिइएको छ। यसबाट पर्यटनको मौसमी निर्भरता घटाउँदै पर्यटकको बसाइ अवधि र खर्च बढाउने अपेक्षा गरिएको छ।
२०३० सम्म वेलनेस पर्यटकको हिस्सा ११ प्रतिशत
सरकारले सन् २०३० सम्म नेपाल आउने कुल अन्तर्राष्ट्रिय पर्यटकमध्ये वेलनेस पर्यटकको हिस्सा ११ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। त्यस्तै, कम्तीमा पाँचवटा एकीकृत वेलनेस हब स्थापना गर्ने र सन् २०३५ सम्म पर्यटकको औसत सन्तुष्टि दर ८.५ भन्दा माथि पुर्याउने योजना छ।
वेलनेस सेवाको गुणस्तर कायम गर्न सन् २०२७ को अन्त्यसम्म राष्ट्रिय मापदण्ड तथा आचारसंहिता लागू गर्ने र २०३० सम्म प्रमुख वेलनेस सुविधालाई अनिवार्य प्रमाणीकरणको दायरामा ल्याउने लक्ष्य छ।
यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि २ हजार नयाँ वेलनेस व्यवसायीलाई तालिम तथा प्रमाणीकरण दिने र सिर्जना हुने नयाँ रोजगारीमध्ये कम्तीमा ३० प्रतिशत अवसर महिला, युवा तथा स्थानीय सीमान्तकृत समुदायका लागि सुनिश्चित गर्ने रणनीतिमा उल्लेख छ।
काठमाडौं, पोखरा र लुम्बिनीको फरक पहिचान
रणनीतिले नेपालका प्रमुख पर्यटन गन्तव्यलाई तिनको भौगोलिक तथा सांस्कृतिक विशेषताअनुसार छुट्टाछुट्टै वेलनेस हबका रूपमा विकास गर्ने अवधारणा अघि सारेको छ।
काठमाडौं उपत्यकालाई आध्यात्मिक तथा सांस्कृतिक एकीकरण हब बनाउने योजना छ। यहाँ सम्पदा, योग, बौद्ध ध्यान र परम्परागत स्पा सेवाहरूलाई एउटै पर्यटन उत्पादनमा जोडिनेछ।
त्यस्तै, पोखरा र अन्नपूर्ण क्षेत्रलाई प्रकृति, योग र पुनर्ताजगीको केन्द्रका रूपमा विकास गर्ने योजना छ। ताल र हिमालको वातावरणमा फरेस्ट बाथिङ, वेलनेस ट्रेकिङ, योग तथा हर्बल उपचारजस्ता गतिविधि सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई भने विश्वव्यापी ध्यान तथा आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ। यहाँ बौद्ध दर्शनमा आधारित ध्यान शिविर तथा तीर्थाटनसँग जोडिएका वेलनेस प्याकेज सञ्चालन गरिनेछन्।
नगरकोट, धुलिखेल र सराङकोटलाई आश्रम तथा समुदायमा आधारित वेलनेस गाउँका रूपमा विकास गर्ने तथा मनाङ र मुस्ताङमा ‘अल्टिट्युड वेलनेस’ र आध्यात्मिक साधना केन्द्र स्थापना गर्ने योजना पनि रणनीतिमा छ।
ट्रेकिङसँग योग र ध्यान जोडिने
नेपालको पदयात्रा पर्यटनलाई पनि वेलनेस अवधारणासँग जोड्ने तयारी गरिएको छ। बहुदिने पदयात्रामा योग र ध्यान समेटेर ‘वेलनेसट्रेकिङ सर्किट’ विकास गरिनेछ।
त्यसैगरी बौद्ध विहारमा आवासीय ध्यान तथा माइन्डफुलनेस कार्यक्रम सञ्चालन गर्ने ‘मोनास्टेरी मेडिटेसनरिट्रिट्स’ र हिमाली जडीबुटी तथा आयुर्वेदमा आधारित ७ देखि १४ दिनसम्मका ‘पञ्चकर्म डिटक्स रिट्रिट’ सञ्चालन गर्ने योजना छ।
नेपाली मौलिक उपचार तथा साधना पद्धतिलाई पनि नयाँ पर्यटन उत्पादनका रूपमा विकास गरिनेछ। सिङ्गिङ बाउल, रेकी तथा आदिवासी झाँक्री परम्परामा आधारित साउन्ड एन्ड इनर्जी हिलिङलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय पर्यटकसमक्ष पुर्याउने रणनीतिमा उल्लेख छ।
तीन चरणमा विस्तार गर्ने लक्ष्य
सरकारले वेलनेस पर्यटन विकासलाई तीन चरणमा अघि बढाउने योजना बनाएको छ।
पहिलो चरणमा २०२६–२०२७ बीच ५ देखि ८ वटा नमुना सुविधा स्थापना गरी १० देखि १५ प्रमाणित सञ्चालकसँग सहकार्य गरिनेछ। यस चरणमा ५०० देखि १ हजार अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गरी १ देखि २ मिलियन अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य छ।
दोस्रो चरणमा २०२८–२०२९ सम्म प्रमुख पर्यटन गन्तव्यमा १० भन्दा बढी हस्ताक्षर सुविधा र ४० भन्दा बढी प्रमाणित सञ्चालकको सञ्जाल बनाइनेछ। यसबाट वार्षिक ३ हजारदेखि ५ हजार पर्यटक आकर्षित गर्ने र ६ देखि १२ मिलियन डलर आम्दानी गर्ने लक्ष्य राखिएको छ।
तेस्रो चरणमा, अर्थात् २०३० पछि, २५ भन्दा बढी विशिष्टीकृत कार्यक्रम सञ्चालन गर्दै वार्षिक १० हजारभन्दा बढी पर्यटक भित्र्याउने र २० देखि ३० मिलियन डलर आम्दानी गर्ने लक्ष्य छ।
पोखरादेखि हिमाली क्षेत्रसम्म ‘वेलनेस करिडोर’
वेलनेस पर्यटनको विस्तार केवल सेवा र प्याकेजमा सीमित नराखी पूर्वाधार विकाससँग जोड्ने योजना पनि छ। वेलनेस हबसम्म पुग्ने सडक, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन र दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच सुधारलाई प्राथमिकता दिइनेछ।
पोखराको लेकसाइडलाई समुदायमा आधारित योग बगैँचा, ध्यानस्थल र पैदलयात्रीमैत्री पूर्वाधारसहित वेलनेस करिडोरका रूपमा विकास गर्ने अवधारणा अघि सारिएको छ।
सार्वजनिक–निजी साझेदारीमार्फत लगानी आकर्षित गर्ने, पर्यावरणमैत्री निर्माण सामग्री प्रयोग गर्ने र नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने योजना पनि छ।
गुणस्तर र दक्ष जनशक्तिमा जोड
नेपालको वेलनेस पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय बनाउन छुट्टै गुणस्तर मापदण्ड लागू गरिनेछ। परम्परागत आश्रमदेखि उच्चस्तरीय वेलनेस रिसोर्टसम्मलाई वर्गीकरण गरी कांस्य, रजत र स्वर्ण प्रमाणीकरण प्रदान गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
थेरापिस्ट तथा सम्बन्धित जनशक्तिका लागि इजाजतपत्र, दर्ता, तालिम र पुनर्ताजगी तालिम अनिवार्य गरिनेछ। स्वास्थ्य, सरसफाइ र उपकरणको निसंक्रमणसम्बन्धी मापदण्डलाई पनि कडाइका साथ लागू गर्ने योजना छ।
विश्व बजारमा ‘हिमालयन वेलनेस’ ब्रान्ड
नेपालले वेलनेस पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ‘हिमालयन वेलनेससेन्चुरी’ नारासहित प्रवर्द्धन रणनीति बनाएको छ।
अमेरिका, युरोप, जर्मनी, बेलायत र अस्ट्रेलियालाई प्राथमिक बजारका रूपमा राखिएको छ। जापान, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वलाई दोस्रो तह र चीन, ब्राजिल तथा फ्रान्सलाई तेस्रो तहमा राखेर लक्षित प्रवर्द्धन गर्ने योजना छ।
डिजिटल मार्केटिङका लागि ‘हिल इन नेपाल’ पोर्टल विकास गर्ने, अन्तर्राष्ट्रिय सञ्चारकर्मी, ब्लगर तथा टुर अपरेटरलाई नेपाल भ्रमण गराउने र नेपालको प्राकृतिक तथा आध्यात्मिक पक्ष समेटिएको ‘हिलिङ हिमालयज’ वृत्तचित्र शृङ्खला निर्माण गर्ने योजना पनि अघि सारिएको छ।
पर्यटनसँगै वातावरण र समुदाय
वेलनेस पर्यटनको विकासलाई वातावरण संरक्षणसँग पनि जोडिएको छ। रणनीतिअनुसार प्रतिपर्यटक दैनिक २०० लिटरभन्दा कम पानी खपत गर्ने, कम्तीमा ६० प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट प्राप्त गर्ने तथा एकल प्रयोगका प्लास्टिक पूर्ण रूपमा निषेध गर्ने मापदण्ड प्रस्ताव गरिएको छ।
त्यसैगरी स्थानीय भिक्षु, पुरोहित तथा धामी–झाँक्रीसँग सहकार्य गरेर सांस्कृतिक कार्यक्रम विकास गर्ने र महिला तथा पिछडिएका समुदायलाई वेलनेस होमस्टे तथा जडीबुटी खेतीमार्फत आर्थिक अवसरमा जोड्ने योजना छ।
यसरी हेर्दा नेपालले अब पर्यटनलाई केवल घुमफिर र मनोरञ्जनमा सीमित नराखी स्वास्थ्य, मानसिक शान्ति, आध्यात्मिकता, प्रकृति र स्थानीय जीवनशैलीसँग जोडेर उच्च मूल्यको पर्यटन उत्पादनका रूपमा विकास गर्ने बाटो रोजेको देखिन्छ। यसको प्रभावकारी कार्यान्वयन हुन सके वेलनेस पर्यटन नेपालको पर्यटन विविधीकरण र लामो सम
