अधिकांश पदमार्गमा देखिन थाले पर्यटक, प्राकृतिक सौन्दर्य स्वागतको पर्खाइमा

टुरिजमफेस
गण्डकी । दसैँलगत्तै बर्षातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदशी पर्यटक देखिन थालेका छन् ।
उत्तरतर्फ हिमालहरू खुलिसकेका छन् । यहाँका प्राकृतिक सौन्दर्यहरू पर्यटकको स्वागतको पर्खाइमा बसेजस्तै देखिन्छन् । दसैँ र तिहारको बीचमा अधिकांश शैक्षिक संस्थाहरू बिदा भएका कारण पछिल्ला समयमा आन्तरिक पर्यटकहरूको पनि पदयात्रा गर्न जाने क्रम बढ्दै गएको छ ।
तराईको नवलपुरदेखि हिमालपारिको जिल्ला मुस्ताङकोे लोमान्थाङ र मनाङ जिल्लासम्म समेटिएको गण्डकी प्रदेश पदयात्रा पर्यटनका लागि आकर्षक गन्तव्य हो । यहाँका अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि पदमार्ग, मर्दी हिमाल पदमार्ग, गुरुङ सम्पदा पदमार्ग, सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) लगायत लामा र छोटा गरी धेरै पदमार्गहरू रहेका छन् ।
प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि सुरक्षित रहेको र पर्यटकको आगमन पनि बढ्दै गएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । “गण्डकी प्रदेशभित्रका सबै पदमार्ग पदयात्राका लागि खुलिसकेका छन्”, उनले भने, “सबै पदमार्गहरू पदयात्राका लागि सुरक्षित छन् । यतीखेर यहाँका पर्यटकीयस्थलसँगै पर्यटन व्यवसायीहरू पदयात्री पर्यटक स्वागतको पर्खाइमा रहेका छन् ।”
नेपाल पर्यटन बोर्डको आयोजनामा हालै फ्रान्समा भएको प्रवद्र्धनात्मक कार्यक्रममा नेपालका पदमार्गहरू पर्यटकका लागि सुरक्षित भएको सन्देश प्रवाह गरिएको जानकारी दिए । हिमाल आरोहणको इतिहासमा नै जेठो हिमालका रुपमा परिचय बनाएको अन्नपूर्ण हिमालसँग जोडिएको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धवलागिरि हिमालको नामसँग जोडिएको धवलागिरि पदमार्गलगायत प्रदेशभित्रका सबै पदमार्गहरू यतिखेर पर्यटक स्वागतको पर्खाइमा रहेको उनले बताए ।
विश्वका १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने अन्नपूर्ण चक्रीय पदमार्गसहित यस क्षेत्रका अन्य पदमार्गहरू पर्यटकले रुचाइएका पदमार्गमा पर्दछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको अन्नपूर्ण क्षेत्रको पदयात्रामा पर्यटकहरूको आगमन बढिरहेको आयोजना प्रमुख रबिन कडरियाले जानकारी दिए । चक्रीय पदमार्गअन्तर्गत अधिकांश स्थानमा सुविधासहितका खानेबस्ने होटेलहरू सञ्चालनमा आइसकेका छन् ।
पर्यटकहरूले धेरै रुचाएको अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा चार दशकअघि सो क्षेत्र जानुपर्दा यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो । अहिले भने उक्त क्षेत्रमा सुविधासम्पन्न होटेल बनेका कारण पदयात्रीहरू सहज रुपमा पदयात्रा गर्न सक्छन् ।
यसअघि यस पदमार्गअन्तर्गत सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालन भएकामा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । दुई–तीन दिनयता यस क्षेत्रमा पर्यटकहरूको आगमन बढ्दै गएको बताउँदै उहाँले आफूहरू पर्यटककको स्वागतका लागि तम्तयार भएर बसेको जानकारी दिए।
अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा मात्रै रहेका थिए । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।
समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।
अन्नपूर्ण चक्रीय पदमार्गसहित आधार शिविर जाने पदमार्ग, घारेपानी पदमार्ग, मर्दी हिमाल पदमार्ग, सिक्लेस, कपुचे पदमार्ग, नर्थ अन्नपूर्ण पदमार्ग यहाँका अन्य पदमार्ग रहेको एक्यापका प्रमुख कडरियाले जानकारी दिए । अन्नपूर्ण क्षेत्रकै पोखराबाट नजिक रहेर पनि हिमाल छुन सकिने अर्को पदमार्ग मर्दी हिमाल पदमार्ग हो ।
छोटो समयमा हिमाल चुम्न सकिने पदमार्गका रुपमा चासो र चर्चा कमाएको यो पदमार्ग गुराँस फुल्ने जङ्गलै जङ्गल चराचुरुङ्गीको चिरविराहट सुन्दै र देख्दै हिँड्न सकिने पदमार्ग हो । सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्नसक्ने यस पदमार्गबाट चाँदी जस्तै टलक्क टल्किएका माछापुच्छे्र, मर्दी, अन्नपूर्ण साउथ, गङ्गापूर्णजस्ता हिमाललाई एक साथ अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।
पर्यटकीय नगरी पोखराबाट दुई दिनमा नै पुगी हिमाल चुम्न सकिने मर्दी पदमार्ग छोटो दूरीको पदयात्रा गर्न चाहने जो कोहीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छे्र, मनास्लुलगायत हिमाल एक साथ देख्न सकिन्छ । कास्कीको काँडेबाट प्रारम्भ हुने यस पदयात्रा मार्ग अष्ट्रेलियन क्याम्प, पोथना, प्रितम देउराली, फोरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा हुँदै मर्दी हाइक्याम्पसम्म पुग्दछ । यी सबै स्थानमा बस्न र खानका लागि होटेल सञ्चालनमा आइसकेका छन् ।