अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अवलोकन गर्ने पर्यटकको बढ्दै

टुरिजमफेस
गण्डकी । पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँको पूर्णिमापछि विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन् । बिहीबार मात्रै एक हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरेको उनले बताइन् ।
पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय बनाइएको छ । हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ ।
यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेषभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायत विषयमा जानकारी लिन पाउँछन् । सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा हिमाल, सात हजार पाँच सयदेखि सात हजार ९९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ मिटरसम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेषभूषा, संस्कृति, उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनका लागि राखिएका छन् ।
सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विद्यार्थीका लागि रु ८०, नेपाली नागरिकका लागि १५०, सार्क राष्ट्रका पर्यटकका लागि ३५० र अन्य विदेशी पर्यटकका लागि ७५० प्रवेश शुल्क निर्धारण गरिएको निर्देशक न्यौपानेले जानकारी दिइन् ।