यो वर्षको शरद ऋतुमा तेह्र सय बढीले हिमाल आरोहण गर्दै

टुरिजमफेस
काठमाडौं । सन् २०२५ को शरद ऋतुमा एक हजार तीन सय २३ ले हिमाल आरोहणको तयारी गरेका छन् । जुन संख्या सन् २०२४ को तुलनामा केही बढी हो । कतिपय व्यक्तिले जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा असर परिरहेको बताए पनि हिमाल आरोहणको संख्या भने खासै असर परेको देखिएन ।
पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतुमा हिमाल आरोहण गर्न १ सय ५७ समूहका एक हजार तीन सय २३ आरोहीले अनुमति लिएका छन् । जुन समूहमा तीन सय आठ महिला छन् । सन् २०२३ मा एक हजार तीन सय २६ र सन् २०२४ मा एक हजार दुई सय ८० ले हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।
५४ हिमाल आरोहण गर्न अनुमति
यस वर्ष पर्यटन विभागले ५४ हिमाल आरोहणका लागि अनुमति जारी गरेको छ । जसमध्ये सबैभन्दा धेरै मनास्लु हिमाल आरोहण गर्न तीन सय ७४ ले अनुमति लिएको विभागले जनाएको छ ।
त्यस्तै अमादब्दम यस हिमालमा २६ समूहका तीन सय ४० आरोहीले अनुमति लिएका छन् । यस वर्ष हिमाल आरोहणका लागि सबभन्दा बढी चीनका एक सय ७, जर्मनीका एक सय ४, फ्रान्सका एक सय १, बेलायतका ९९, अमेरिकाका ९६, रुसका ८७, नेपालका ८३, पोल्याण्डका ६८, क्यानडा र अष्ट्रेलियाका ३५÷३५, स्वीटजरल्याण्डका ३४ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।