लामो बिदाले बढायो आन्तरिक पर्यटन, पोखरा पर्यटकले भरिभराउ
टुरिजमफेस
पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।
दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले खस्केको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको छ ।
“विभिन्न मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको छ । विशेषगरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आइरहेका छन्”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका भने । “लामो बिदा, अनुकूल मौसमले अहिले लेकसाइडका ९० प्रतिशत होटेल अकुपेन्सी रहेको छ, पोखरा हुँदै आसपासका पर्यटकीय गन्तव्यमा अन्नपूर्ण पदयात्रादेखि मुस्ताङसम्मको यात्रामा निस्केका आन्तरिक तथा केही बाह्य पर्यटकको आगमनले उत्साह थपेको छ ।” अहिले पोखरामात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पारेको सुवेदीले बताए ।
अध्यक्ष सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल करिब रु आठ खर्बबराबरको लगानी भएको छ । सोमध्ये करिब रु ६ खर्ब होटल व्यवसायमै लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित छन् ।
पोखरामा करिब एक हजार २०० पर्यटकीयस्तरका होटल सञ्चालनमा छन्, जसमा ७०० वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् । एक रातमा करिब ४० हजार पाहुना समायोजन गर्न सक्ने क्षमता पोखराका होटलमा रहेको छ । हाल पोखरामा एउटा फाइभस्टार, ६ फोरस्टार र करिब ३० थ्री, टु र वन–स्टार लक्जरी होटल सञ्चालनमा छन् ।
आन्तरिक पर्यटकमा पदयात्राप्रति पनि उत्साह देखिएको छ । पोखरा पदयात्रा (ट्रेकिङ) का लागि एक महत्त्वपूर्ण प्रवेशद्वार हो । अन्नपूर्ण बेस क्याम्प ट्रेक, मर्दी हिमाल ट्रेक, घोरेपानी–पुनहिल ट्रेकजस्ता विश्व–प्रसिद्ध पदमार्ग पोखराबाटै सुरु हुन्छन् । यी पदमार्गले हरेक वर्ष हजारौँ ट्रेकरलाई आकर्षित गर्छन्, जसले पोखराको पर्यटनमा थप विविधता ल्याएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यले भने, “पोखरा नेपालका लागि पदयात्राको प्रवेशद्वार हो । अन्नपूर्ण क्षेत्रमा रहेका अनगिन्ती सुन्दर पदमार्गले यस क्षेत्रलाई विश्वभरका ट्रेकरका लागि आकर्षक गन्तव्य बनाएका छन् ।
अहिले आन्तरिक र बाह्य पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।” उहाँले पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन यी पदमार्गको संरक्षण र प्रवर्द्धनमा सरकारले चासो बढाउनुपर्ने बताए । आचार्यले भने, “यस याममा पोखरामा पर्यटकको चाप बढ्नु स्वाभाविक हो, तर हामी समग्र वर्षभरि नै पदयात्रा पर्यटनलाई सक्रिय राख्न चाहन्छौँ”, आचार्यले यसका लागि नयाँ ट्रेकिङ रुटहरूको पहिचान, अवस्थित रुटको स्तरोन्नति, ट्रेकर सुरक्षाका लागि आवश्यक पूर्वाधार विकास र पथप्रदर्शकको क्षमता अभिवृद्धिमा सक्रियतासँगै हालैमात्र अन्नपूर्ण नर्थ जसलाई मौरिस हर्जोग ट्रेल भनेर टानले प्रवर्द्धन गरेको बताए ।
