एलन मस्कका लागि टेस्लाद्वारा ऐतिहासिक तलब प्याकेज स्वीकृत, पुरा होला त टेस्लाको आर्थिक लक्ष्य ?
टुरिजमफेस
काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उनलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।
टेस्लाको वार्षिक सेयरधनी बैठक बिहीबार सम्पन्न भएको थियो । बैठकमा करिब ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मस्कको स्टक–आधारित क्षतिपूर्ति योजनाको समर्थनमा मतदान गरे । परिणाम घोषणा भएपछि हल उत्साह र हर्षध्वनिले गुञ्जायमान भएको बताइएको छ ।
“म यो समर्थनका लागि अत्यन्त आभारी छु”, मस्कले मतदानपछि सेयरधनीहरू र टेस्लाको सञ्चालक मण्डललाई धन्यवाद दिँदै भने ।
धेरै सिइओहरूले जस्तो मासिक तलब वा बोनस नलिने मस्कको आम्दानी पूर्ण रूपमा कम्पनीका सेयर विकल्पहरूमा आधारित छ । नयाँ स्वीकृत प्याकेज अन्तर्गत टेस्लाले यदि ८५ खर्ब अमेरिकी डलरको बजार मूल्य हासिल गर्न सफल भयो भने उनलाई आगामी दशकमा ४२ करोड ३७ लाख टेस्ला सेयरहरू प्राप्त हुनेछ-जसको मूल्य करिब १० खर्ब अमेरिकी डलर बराबर हुनेछ ।
यो लक्ष्य पुरा गर्नका लागि टेस्लाको सेयर मूल्य हालको स्तरबाट करिब ४६६ प्रतिशतले बढ्नुपर्नेछ, जसले कम्पनीलाई हाल विश्वकै सबैभन्दा ठूलो मूल्याङ्कन भएका एनभिडियाभन्दा पनि माथि पुर्याउनेछ । एनभिडियाको बजार मूल्य हाल करिब ५० खर्ब अमेरिकी डलर रहेको छ ।
यदि मस्कले स्टक अवार्डका सबै १२ किस्ताहरू प्राप्त गरे भने उनको दैनिक औसत आय करिब २७ करोड ५० लाख अमेरिकी डलर पुग्नेछ । यसलाई इतिहासकै सबैभन्दा ठूलो कार्यकारी तलब सम्झौता मानिनेछ ।
