झरी र हिमपातले भ्रमणमा रोक लगाइएको ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन
टुरिजमफेस
म्याग्दी । अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्छ ।
यही कात्तिक १० देखि १५ गतेसम्म परेको झरी र हिमपातका कारण स्थानीय प्रशासन र अन्नपूर्ण गाउँपालिकाले उक्त पदमार्ग भ्रमणमा रोक लगाएका थिए । मौसममा सुधार भएपछि पदमार्ग पुनःसञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले जानकारी दिए ।
“चिसो बढे पनि पर्यटक आगमन रोकिएको छैन”, उनले भने, “पदमार्ग भ्रमण खुला भएपछि पर्यटकको चहलपहल बढेको छ ।” छोटो अवधिमा पहाडी र हिमाली क्षेत्रको एकैपटक साहसिक यात्रामा रुचि राख्नेहरूका लागि अन्नपूर्ण हिमालको आधार शिविर नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।
फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार १९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको आधार शिविर पुगेर फर्कन सकिन्छ ।
