पर्यटनमार्फत समृद्धि खोजिरहेका लोपोन्मुख आठपहरिया समुदाय, स्याउले सिप्टिङ होमस्टे आतिथ्य र पहिचानको प्रतिक
टुरिजमफेस
धनकुटा । धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ गाउँ । धनकुटा नगरपालिका–३ मा पर्ने यो स्याउले सिप्तिङ गाउँमा आठपहरिया समुदायको बाहुल्य छ ।
सङ्ख्याका हिसाबले सानो तर सांस्कृतिक सम्पदामा समृद्ध आठपहरिया समुदायले सञ्चालन गरेको होमस्टे अहिले स्थानीय पर्यटनको नयाँ पहिचान बनेको छ । अरुण र तमोर नदीको बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको यो सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ यतिबेला पर्यटनमार्फत समृद्धि खोजिरहेको छ ।
स्याले सिप्तिङ गाउँ पुग्ने पर्यटकहरु पाहुना होइन परिवारका सदस्य बन्छन् । हरियाली डाँडामाथि, चिसो र निश्चल हावाको वेगसँगै सुनौला घामका किरणले यो गाउँको सुन्दरता अझ बढाउँछ ।
नेपालको जनगणना, २०७८ अनुसार आठपहरिया समुदायको सङ्ख्या पाँच हजार ८७८ जना छ । यो समुदायलाई होमस्टेमार्फत समृद्धिको यात्रामा हिँडाउने अग्रसरता भने अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र कम्युनिटी होमस्टे नेटवर्कले गरेका थिए ।
साथै आतिथ्य सत्कार र क्षमता अभिवृद्धिका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले संस्कृति प्रवर्द्धन गर्न धनकुटा नगरपालिकासँग सहकार्य गरेका थिए ।
आउने पर्यटकको स्वागतमा होटलको औपचारिकता जस्तो नभई मौलिक संस्कृति झल्किन्छ । पाहुनालाई आमा तथा दिदीबहिनीहरुले रातो टीका, फूलको माला र मीठो मुस्कानले स्वागत गर्छन् ।
स्वागतमा स्थानीय मौरीको मह मिसाइएको पानी अनिवार्य जस्तै छ । एकैछिन थमाइ मारेपछि पाहुनालाई होमस्टे र समुदायको इतिहास, संस्कार र संस्कृतिसँग साक्षात्कार गराइन्छ । आठपहरिया समुदायले कसरी आफ्नो पहिचान र परम्परा जोगाउँदै पर्यटनलाई आत्मसात गरेका छन् भन्ने जानकारी दिइन्छ ।
स्याउले सिप्तिङ पुग्ने अधिकांशको ध्यान सुन्तला बगैँचाले तान्छ । पाहुनाहरू बगैँचामा रमाउँदै किसानसँग संवाद गर्छन् । सुन्तलाखेती, मह उत्पादन र स्थानीय बीउ संरक्षणबारे जानकारी लिन्छन् । यहाँको होमस्टेले पाहुनालाई केबल बास मात्र होइन, जीवनशैलीको अध्ययन र अनुभव पनि दिन्छ ।
गत वर्ष यस होमस्टेमा ७२ जना पर्यटकलाई स्वागत गरिएको होमस्टेका अध्यक्ष हिराबहादुर राईले बताए । जसमा २४ जना विदेशी पाहुना थिए । यस वर्ष भने हालसम्म ८२ जना पर्यटक यहाँ आइपुगेको उनले बताए ।
एकरातमा १७ जनासम्म पाहुनालाई बास दिनसक्ने गरी विकास गरिएको यस होमस्टेमा मनोरञ्जन, संस्कृतिको जगेर्ना र नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउने उद्देश्यले हरेक बेलुका स्थानीय सांस्कृतीक नृत्यहरु प्रस्तुत गरिन्छ ।
यहाँको अर्को आकर्षण हो, साततले झरना र गुफा । सामुदायिक होमस्टेबाट १५ मिनेटको सवारी यात्रा र करिब डेढ घण्टा पैदल यात्रा गरेपछि झरना देख्न पाइन्छ । झरना पुग्नुभन्दा एक किलोमिटर अगाडि नै साततले गुफा छ । यस क्षेत्रलाई पहुँचयोग्य बनाउन एसटीएलआरपीले पदमार्ग निर्माण गरिदिएको छ ।
आठपहरिया समुदाय नेपालको लोपोन्मुख जातिमा पर्छ । उनीहरुको आफ्नै भाषा, गीत, नृत्य र परम्परा छ । पछिल्लो समय आधुनिकतासँगै संस्कृति हराउने चिन्ता समुदायका हिराबहादुरलाई छ । उनि भन्छन्, “हामीले त पुर्खाहरुबाट सिक्यौँ । तर, नयाँ पुस्ताले आधुनिकतामा रमाएर आफ्नो संस्कृति छोड्दै जाँदा इतिहास नै मेटिन्छ कि जस्तो लाग्छ । त्यसपछि अहिले हामीले संस्कृति हस्तान्तरण र सिकाइका लागि हरेक साँझ सांस्कृतिक कार्यक्रमहरु गर्ने गरेका छौँ ।”
उनले पर्यटनलाई संस्कृति संरक्षणको माध्यम बनाइरहेको पनि बताउनुभयो । होमस्टे यहाँ केबल व्यवसाय मात्र नभएर संस्कृति जीवित राख्ने माध्यम भएको उनको भनाइ छ । पाहुनाले यहाँ बास गर्दा केबल प्रकृति मात्र हेर्दैनन्, उनीहरू जीवनको एक पुरानो अध्यायसँग भेट गर्छन्, जहाँ सम्बन्ध, श्रम र माटोको गन्ध मिसिएको छ ।
यस परियोजनामा स्थानीय युवा सक्रिय छन् । उनीहरू पर्यटन व्यवस्थापन, पाहुना सेवा र गाइडिङमा दक्ष बन्दै गइरहेका छन् । तर, अझै सहज पहुँचका लागि होमस्टेसम्म जोड्ने बाटो बनाउन सहयोगका लागि सरकारसँग स्थानीय समुदायले आग्रह गरेका छन् ।
