एसईई सुरु
काठमाडौं, चैत १९ । माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर एकैसाथ सुरु भएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। यस वर्ष एसईईका लागि पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका छन्। सहभागीमध्ये छात्राको संख्या छात्रभन्दा बढी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षामा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना सहभागी छन्। जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।
देशभर कुल एक हजार ९६६ परीक्षा केन्द्र तोकिएको छ। प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ। परीक्षा व्यवस्थापनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी खटाइएको छ।
यस वर्ष परीक्षा केन्द्रमा सामूहिक अनुगमनमा पूर्ण रूपमा रोक लगाइएको छ। विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समूहमा परीक्षा हलभित्र प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्य प्रभावित भएको गुनासो आएपछि यस्तो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। अनुगमन कार्यलाई व्यवस्थित बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य बोर्डले लिएको छ। परीक्षा तालिकाअनुसार चैत २० गते अनिवार्य नेपाली, २२ गते गणित, २३ गते विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम खण्ड, २६ गते ऐच्छिक द्वितीय खण्ड तथा चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन हुनेछ।
