काठमाडौंका पूर्वसिडिओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान सुरु
काठमाडौं। जेनजी आन्दोलनसँग जोडिएको घटनामा अनुसन्धान अघि बढाउँदै प्रहरीले काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई पक्राउ गरेको छ। मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्। पक्राउसँगै उनीमाथि जेनजी आन्दोलनका क्रममा भएको घटनाको अनुसन्धान औपचारिक रूपमा सुरु गरिएको छ।
गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापन, बल प्रयोग र आन्दोलन नियन्त्रणका विषयमा व्यापक विवाद भएको थियो। सो समयमा रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए। आन्दोलनका क्रममा भएको मानवीय क्षति र प्रशासनिक निर्णयबारे छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको थियो।
उक्त आयोगले आफ्नो प्रतिवेदनमा आन्दोलनका क्रममा भएको घटनामा प्रशासनिक लापरवाही र आवश्यक सतर्कता नअपनाइएको निष्कर्ष निकाल्दै रिजालमाथि कानुनी कारबाही गर्न सिफारिस गरेको थियो। आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान र अभियोजन गर्न सुझाव दिएको हो।
कानुनअनुसार यस्तो कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। पक्राउपछि प्रहरीले आवश्यक बयान तथा प्रमाण संकलनको प्रक्रिया अघि बढाएको जनाएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित अन्य व्यक्तिमाथि पनि अनुसन्धान जारी रहेको बताइएको छ।
