प्रधानमन्त्री शाहद्वारा मन्त्रालयहरूलाई दैनिक कार्यविवरण पठाउन निर्देशन, कामको गति बढाउन दबाब
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन मन्त्रालयहरूमा दैनिक रिपोर्टिङ प्रणाली लागू गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, विभाग र आयोगलाई कार्यालय समयभित्र दिनभरि सम्पन्न भएका कामको विवरण पठाउन परिपत्र जारी गरेको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार हरेक मन्त्रालयले फोकल पर्सन तोकेर दैनिक कार्यसम्पादनको विवरण साँझसम्म बुझाउनुपर्ने व्यवस्था गरिएको छ। अधिकांश मन्त्रालयले सहसचिवको नेतृत्वमा फोकल पर्सन तोकेर रिपोर्टिङ सुरु गरिसकेका छन्।
सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूचीको कार्यान्वयनलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गरिएको बताइएको छ। प्रधानमन्त्री शाहले दैनिक रूपमा प्रगति विवरण हेरेर मन्त्रालयको कामको मूल्यांकन गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रीहरू पनि काममा सक्रिय देखिएका छन्। कर्मचारीका अनुसार केही मन्त्रीहरू कार्यालय समयअघि नै सिंहदरबार पुग्न थालेका छन् र मातहतका कर्मचारीलाई कामको गति बढाउन आग्रह गरिरहेका छन्।
एक सहसचिवका अनुसार मन्त्रीहरूले कर्मचारीसँग दैनिक कार्यसम्पादनमा ढिलाइ नगर्न र प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार काम अघि बढाउन दबाब दिइरहेका छन्। “काम देखिने गरी अघि बढाउनुपर्छ, दैनिक रिपोर्टिङमा कमजोरी देखिनु हुँदैन भन्ने मन्त्रीहरूको जोड छ,” ती सहसचिवले बताए।
दैनिक रिपोर्टिङ प्रणाली लागू भएसँगै मन्त्रालयहरूबीच कार्यसम्पादनमा प्रतिस्पर्धा बढ्ने र प्रशासनिक ढिलासुस्ती घट्ने अपेक्षा सरकारको छ। साथै, कामको प्रगति अनुगमनलाई नियमित र व्यवस्थित बनाउन विज्ञ तथा सांसदहरूको सहयोगसमेत लिन थालिएको छ।
