गोठाला, वस्तुभाउ र पर्यटकले चहलपहल हुने बुकीपाटन चिसो बढेपछि हुन्छ हिउँदभरि सुनसान
टुरिजमफेस
बागलुङ । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो ।
अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
असारदेखि असोजसम्म बुकीपाटनमा पर्ने गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायतका क्षेत्रमा गोठलाको बाक्लो बसाइँ हुने गर्छ । गोठालाले गोठ बेसी झारेपछि बुकीपाटन सुनसान छ । चिसो बढेका कारण पर्यटकसमेत पुग्न सकेका छैनन् ।
समुन्द्री सतहदेखि करिब चार हजार ५०० मिटरको उचाइमा पर्ने बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य बनेको छ । वर्खायाममा बेसी क्षेत्रमा गर्मी हुने हुँदा शीतलता खोज्दै बुकीपाटन बढी चढ्ने तर अहिले चिसो बढेपछि बुकीपाटन जाने पर्यटक कम भएको ढोरपाटनका होटल व्यवसायी सन्देश थापाले बताए । असोजसम्म बुकीपाटन पुग्ने पर्यटकको सङ्ख्या धेरै भए पनि अहिले फाट्टफुट्ट मात्रै जाने गरेको उनको भनाइ छ ।
बुकीपाटन पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सक्ने हुँदा वर्खाको समयमा बढी पर्यटक बुकीपाटन उक्लिने थापा बताउँछन् । गोठाला वस्तुभाउ लिएर असोजमै बेसी झरेको उनको भनाइ छ । उनले भने, “दुई वर्षदेखि त बुकीपाटनमा पर्यटकको आगमन व्यापक हुँदै गएको छ, पहिले गोठाला मात्रै बस्ने ठाउँमा अहिले टाढाटाढाबाट पर्यटक आउन थालेका छन् ।”
