कृष्णसार अवलोकनका लागि बर्दियाको खैरापुर पर्यटकको पहिलो रोजाइ
टुरिजमफेस
बर्दिया । दुर्लभ वन्यजन्तु मध्ये पर्ने कृष्णसार हेर्न हालका वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बर्दियामा रहेको खैरापुर क्षेत्रतर्फ बढ्दै गएको छ। बर्दिया राष्ट्रिय निकुञ्जदेखि करिब ४५ किलोमिटर दूरीमा पर्ने गुलरिया नगरपालिका–२ खैरापुरमा अवस्थित कृष्णसार संरक्षण क्षेत्र यसको मुख्य गन्तव्य हो।

संरक्षण क्षेत्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी, सार्क क्षेत्रका तथा अन्य विदेशी गरी ४,६०० पर्यटकले कृष्णसार अवलोकन गरेका थिए। तर यस वर्ष वर्षायाम लम्बिएपछि पर्यटक आगमनमा केही कमी आएको संरक्षण क्षेत्रका अधिकारीहरू बताउँछन्। प्रायः पर्यटकहरू दिनभर अवलोकन गरेर बेलुका बर्दिया निकुञ्ज आसपासका होटेल तथा रिसोर्टतर्फ फर्कने गर्छन्।
हाल संरक्षण क्षेत्रमा २ सय ४८ वटा कृष्णसार रहेको जनाइएको छ। सरकारले २०६५ चैत ३ गते यो क्षेत्रलाई औपचारिक रूपमा कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको हो। कुल १६.९५ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ५.२७ वर्ग किलोमिटर कृष्णसारको मुख्य वासस्थान र ११.६८ वर्ग किलोमिटर प्रभावित क्षेत्र रहेको छ।

कृष्णसार खुला घाँसे मैदान– विशेषगरी दुबो र काँस रहेको क्षेत्रमा बस्न रुचाउँछन्। स्थानीय बस्ती नजिकै चराइमा गएका गाई, भैँसी तथा भेडाबाख्रासँगै समेत उनीहरू देखिनु सामान्य मानिन्छ। संरक्षण क्षेत्रमा कृष्णसारको संख्या नियमित रूपमा अनुगमन गरी अद्यावधिक गरिँदै आएको अधिकारीहरूको भनाइ छ।

संरक्षण क्षेत्रमा भौतिक संरचना विकास तथा वासस्थान सुधारका काम निरन्तर भइरहेको छ। आगामी दिनमा संरक्षण क्षेत्रको व्यवस्थापन स्थानीय समुदायसँगै साझेदारीमा लैजाने योजना पनि रहेको जनाइएको छ।
प्रवेश शुल्क
सरकारले तोकेको शुल्क अनुसार संरक्षण क्षेत्र प्रवेशका लागि हाल निम्न दर लागू छन्—
-
विदेशी पर्यटक: रु २,०००
-
सार्क देशका नागरिक: रु ५००
-
नेपाली नागरिक: रु १००
