नयाँ वर्षको उत्सव दुःखदमा परिणत, स्विट्जरल्यान्डमा आगलागी हुँदा दर्जनौँको ज्यान गएको आशंका
काठमाडौं। नयाँ वर्षको स्वागतमा आयोजना गरिएको पार्टी स्विट्जरल्यान्डको चर्चित पर्यटकीय क्षेत्र क्रान्स–मोन्टानामा भयावह दुर्घटनामा परिणत भएको छ। एक स्थानीय बारमा भइरहेको उत्सवका क्रममा अचानक आगलागी हुँदा दर्जनौँ मानिसको ज्यान गएको आशंका गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने स्वीस अधिकारीहरूले बताएका छन्।
आगलागीका पीडितहरू विभिन्न देशका नागरिक रहेको र मृतकहरूको पहिचान प्रक्रिया जारी रहेको जनाइएको छ। घाइतेहरूको उपचार भइरहेको भ्याले अस्पतालको सघन उपचार कक्ष (आइसियू) क्षमताभन्दा बढी भरिएपछि केही बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गरिएको छ।
उद्धार तथा आगो नियन्त्रणका लागि १० वटा हेलिकप्टर, ४० वटा एम्बुलेन्स र करिब १५० जना उद्धारकर्मी परिचालन गरिएको थियो। अधिकारीहरूका अनुसार उद्धार र आपतकालीन उपचार कार्य केही दिनसम्म जारी रहनेछ।
स्थानीय प्रशासनले नागरिक र पर्यटकलाई सतर्क रहन, अफवाह नफैलाउन र अस्पतालमा अनावश्यक भीड नगर्न आग्रह गरेको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र प्रारम्भिक छानबिनका आधारमा यो घटना कुनै पनि प्रकारको आक्रमण नभएको क्षेत्रीय अभियोजन कार्यालयले स्पष्ट पारेको छ।
