जङ्गलको झाडी फँडानी गरेर व्यवस्थित पदमार्ग निर्माण सुरु
टुरिजमफेस
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ ।
रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिँड्नुपर्ने भएपछि ढलान गरी सिँढीसहितको पदमार्ग निर्माण सुरु गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२-८३ मा रघुगङ्गा गाउँपालिकाबाट विनियोजन भएको रु तीन लाख ५० हजार बजेटमा श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गर्न लागिएको रानीपौवा घोरेढुङ्गा चमेरे आर्यघाट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष तोरणबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका प्राविधिकद्वारा लागत अनुमान तयार गरी विनियोजन भएको बजेटबाट १३२ मिटर पदमार्ग निर्माण गरिएको छ ।
चमेरेदेखि नै जङ्गलको झाडी फँडानी गरेर सोलिङ्गसहित ढलान गरी साढे एक मिटर फराकिलो पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । मुख्यगरी गाउँमा दिवङ्गत भएकाहरूको अन्तिम संस्कारका लागि चमेरेस्थित कालीगण्डकी नदी किनारको आर्यघाटमा लैजानका लागि प्रयोग हुने यस गोरेटो बाटो पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका स्थानीयवासीले स्वेच्छिक रूपमा सहयोगसमेत जुटाउन थालेका छन् ।
रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आउने र चमेरदेखि कालीगण्डकी नदी किनार जाने बाटोसमेत जोखिमपूर्ण रहेको र गाउँपालिकाबाट विनियोजन भएको बजेट अपुग हुने भएपछि देश तथा विदेशमा रहेका स्थानीयवासीबाट सहयोग जुटाएर थप पदमार्ग निर्माण गर्ने तयारीमा जुटेको उपभोक्ता समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।
