काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णयप्रति असहमति जनाएका छन्। उनले राज्यकोषमा थप भार पार्नेभन्दा सांसदहरूले आफ्नै तलबबाट स्वकीय कर्मचारी व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
पार्टीको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै घिसिङले सुशासन र मितव्ययितालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार सांसदका लागि छुट्टै सुविधा सिर्जना गर्नु उपयुक्त नभएको भन्दै स्वकीय सचिव राख्नै परे व्यक्तिगत स्रोतबाट व्यवस्था गर्न सकिने उल्लेख गरे।
“यदि सुशासनलाई बलियो बनाउने हो भने सांसदहरूले आफ्नै पारिश्रमिकबाट स्वकीय राख्नुपर्छ। यसका लागि राज्यले अतिरिक्त सुविधा दिन आवश्यक छैन,” घिसिङले भने।
उनले मन्त्रीहरूलाई भने कार्यसम्पादनका लागि सीमित संख्यामा स्वकीय सहयोगी राख्न सकिने बताए। “मन्त्रीहरूका लागि दुई वा तीन जना स्वकीय सहयोगी पर्याप्त हुन्छन्,” उनले थपे।
उज्यालो नेपाल पार्टीले सबै सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयको औपचारिक रूपमा विरोध गर्ने निर्णय गरेको पनि घिसिङले जानकारी दिए। पार्टीले सार्वजनिक खर्च नियन्त्रण, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर यस्तो धारणा अघि सारेको जनाएको छ।