यात्रु घटे पनि बुद्ध एयरको कारोबार १० अर्ब नाघ्यो, बजारमा अझै अग्रस्थान कायम
काठमाडौं । आन्तरिक हवाई सेवाको अग्रणी कम्पनी बुद्ध एयरले गत आर्थिक वर्षको पहिलो साढे नौ महिनामा १० अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। यात्रु संख्या घट्दा र सञ्चालन खर्च बढ्दा नाफामा दबाब परे पनि कम्पनीले बजार नेतृत्व भने कायम राखेको छ।
कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन नाफा मार्जिन ८.२ प्रतिशतमा सीमित भएको छ। अघिल्ला वर्षहरूको तुलनामा यो दर कम हो। इन्जिन मर्मत, सञ्चालन खर्च तथा हवाई इन्धनको मूल्य वृद्धिले नाफामा असर पारेको कम्पनीले जनाएको छ।
विशेषगरी अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धन महँगिँदा हवाई यात्राको माग प्रभावित भएको देखिएको छ। सन् २०२६ को अप्रिलमा बुद्ध एयरका यात्रु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले घटेको कम्पनीको विश्लेषण छ। समग्र साढे नौ महिनाको अवधिमा पनि यात्रु संख्या करिब १० प्रतिशतले घटेको छ।
यद्यपि न्यूनतम भाडादर कार्यान्वयन भएपछि प्रति किलोमिटर उपलब्ध सिटबाट हुने आम्दानीमा सुधार आएको छ। तर कर्मचारी तलब, मर्मत–सम्भार र अन्य सञ्चालन खर्च बढेकाले त्यसको पूर्ण लाभ कम्पनीले लिन सकेको छैन।
सन् १९९६ मा स्थापना भएको बुद्ध एयर हाल नेपालको सबैभन्दा ठूलो निजी हवाई सेवा प्रदायक कम्पनीका रूपमा परिचित छ। कम्पनीले देशका प्रमुख आन्तरिक गन्तव्यसँगै भारतको वाराणसी र कोलकातामा समेत नियमित उडान सञ्चालन गर्दै आएको छ। यसको बेडामा एटीआर–४२ र एटीआर–७२ सिरिजका १५ विमान रहेका छन्।
वित्तीय रूपमा कम्पनीको ऋण व्यवस्थापन अवस्था भने सन्तोषजनक देखिएको छ। दीर्घकालीन तथा अल्पकालीन ऋण घटाउँदै लगेका कारण गियरिङ अनुपात अघिल्लो वर्षको तुलनामा सुधारिएको छ। साथै ऋण भुक्तानी क्षमताका सूचकहरू पनि सुरक्षित सीमाभित्र रहेको जनाइएको छ।
यद्यपि प्रतिस्पर्धा बढेसँगै कम्पनीको बजार हिस्सा केही खुम्चिएको छ। अघिल्लो वर्ष ६० प्रतिशत रहेको बजार हिस्सा हाल ५७ प्रतिशतमा झरेको छ। त्यसपछि पनि बुद्ध एयर नेपाली आकाशमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने एयरलाइन्सका रूपमा कायम रहेको छ।
कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत नेतृत्वको व्यवस्थापनले आगामी दिनमा सेवा विस्तार, लागत व्यवस्थापन र सञ्चालन क्षमता अभिवृद्धिमा जोड दिने रणनीति अघि सारेको जनाएको छ।
