इन्धन सस्तो, तर बागमतीमा सार्वजनिक यातायातको भाडा यथावत
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको करिब एक महिना पुग्न लाग्दा पनि बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा भने अझै घटाइएको छैन। यसले दैनिक यात्रा गर्ने यात्रुहरूलाई अतिरिक्त आर्थिक भार व्यहोर्न बाध्य बनाएको छ।
नेपाल आयल निगमले असार १७ गतेदेखि पेट्रोल र डिजेलको मूल्य घटाएपछि अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरिए पनि बागमती प्रदेशभित्र चल्ने बस, माइक्रोबस तथा काठमाडौं उपत्यकाका सार्वजनिक सवारीको भाडादर यथावत राखिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य घट्दा पनि प्रदेश सरकारले वैज्ञानिक आधारमा भाडा समायोजन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनका अनुसार प्रदेश सरकारको ढिलासुस्तीका कारण यात्रुहरू अझै पुरानै महँगो भाडा तिर्न बाध्य छन्।
उनले संघीय सरकारले अन्तरप्रदेशीय रुटमा भाडा घटाइसकेको उदाहरण दिँदै प्रदेश सरकारहरूले पनि तत्काल भाडादर पुनरावलोकन गर्नुपर्ने बताए। सिटौलाको भनाइमा कोशी प्रदेशबाहेक अधिकांश प्रदेशले सार्वजनिक यातायातको भाडा समायोजनमा अपेक्षित चासो देखाएका छैनन्।
यता बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले भने मन्त्रालयको संरचना र जिम्मेवारी परिवर्तनका कारण प्रक्रिया केही ढिलो भएको जनाएको छ। मन्त्रालयका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलका अनुसार प्रदेशभित्रका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारणको काम अन्तिम चरणमा पुगेको छ र केही दिनभित्र निर्णय सार्वजनिक गरिने तयारी भइरहेको छ।
यसअघि यातायात व्यवस्था विभागले असार १८ गते अन्तरप्रदेशीय सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको थियो। विभागका अनुसार डिजेलको औसत मूल्य उल्लेख्य रूपमा घटेकाले स्वचालित भाडा समायोजन प्रणालीअनुसार नयाँ दर लागू गरिएको हो।
भाडा समायोजनमा भइरहेको ढिलाइले बागमती प्रदेशका लाखौं यात्रु प्रत्यक्ष प्रभावित भइरहेका छन् भने इन्धन मूल्य घटेको लाभ उपभोक्तासम्म पुग्न नसकेको गुनासो बढ्दै गएको छ।
