होटल एशोसिएसन नेपाल (हान) ले मनायो ६० औं वार्षिकोत्सव
टुरिजमफेस
कठमाडौं । होटल एशोसिएसन नेपाल (हान) ले ६० औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको ६० वर्ष पुगेको अवसरमा काठमाडौंमा भव्य कार्यक्रम गरिएको हो । कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादवलगायत प्रतिष्ठित उद्योगी, व्यवसायीलगायत सहभागी थिए । हानका अध्यक्ष विनायक शाहका अनुसार हस्पिटालिटी क्षेत्रको बारेमा आमसर्वसाधारणलाई वास्तविकता बुझाउन यस्तो कार्यक्रम गरिएको हो । हानको स्थापना सन् १९६६ मा भएको हो ।
यस्तो छ नेपालको होटल इतिहास
वि.सं. २०२० मा तत्कालीन युवराज्ञी शान्ति शाहज्यादीको विवाह हुँदा विदेशी पाहुनालाई राख्ने उपयुक्त ठाउँको अभाव भएपछि अन्नपूर्ण र सोल्टी होटलको स्थापना भएको इतिहास छ । त्यो पनि दरवार नजिककै व्यक्तिहरूको स्वामित्वमा । आज नेपालमा होटलको जेजस्तो अवस्था छ, तिनै होटलहरूको जगमा हस्पिटालिटी क्षेत्र फस्टाइरहेको छ । सोल्टी र अन्नपूर्णको स्थापनापछि नेपालमा कुल होटलको संख्या ८ पुग्दा हान स्थापना भएको हो । पहिलो अध्यक्ष प्रभाकर शमशेर राणा हुन् । त्यही जगमा बसेको नेपालको होटल व्यवसायले अहिले करिब ३५ लाखलाई सेवा प्रदान गर्ने हैसियत कायम गरिसकेको छ ।

पर्यटनका नयाँ आयामः खेलदेखि प्रविधिसम्म
अघिल्लो पुस्ताको पर्यटन केवल हिमाल र मन्दिरमा सीमित थियो, तर अबको गन्तव्य बहुआयामिक हुनुपर्छ । होटल संघले आगामी दिनमा निम्न क्षेत्रलाई प्राथमिकतामा राखेको छः
१. खेल पर्यटनः भारत र पाकिस्तान जस्ता देशका क्रिकेट टोलीलाई काठमाडौंमा खेलाउन सकिने र म्याराथन जस्ता खेलका माध्यमबाट विश्वको ध्यान तान्न सकिने सम्भावना ।
२. माइस पर्यटनः ठूला अन्तर्राष्ट्रिय सम्मेलन र बैठकहरू नेपालमा आयोजना गर्ने ।
३. वैवाहिक पर्यटनः विदेशीहरूका लागि नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रूपमा विकास गर्ने ।
४. सम्बन्ध जोड्ने पर्यटनः लुम्बिनी (शान्तिको प्रतीक) देखि सगरमाथा (उचाइको प्रतीक) सम्मको यात्रालाई एउटै प्याकेजमा जोड्ने ।
५. सांस्कृतिक खानपानः नेपालका विभिन्न जातजाति र भूगोल अनुसारका मौलिक खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने ।

प्रविधि र पर्यावरणको सन्तुलन
बदलिँदो समयसँगै होटल क्षेत्रले आफूलाई ‘इको–टुरिजम’ र ‘ग्रीन टुरिजम’ मा ढाल्ने प्रतिबद्धता जनाएको छ । वातावरणीय संरक्षण गर्दै दिगो पर्यटनको अभ्यास अबको अनिवार्य सर्त हो । साथै, सेवालाई चुस्त र आधुनिक बनाउन होटल क्षेत्रमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को प्रयोगलाई पनि संघले विशेष प्राथमिकतामा राखेको छ ।
६० औं वर्षगाँठ मनाइरहँदा संघले होटल भनेका समुदायका लागि हुन् र सुमदायले होटलबाटै फाइदा लिन्छन् भन्ने बुझाइलाई व्यापक गर्ने तयारी गरेको छ । संघका अध्यक्ष विनायक शाह भन्छन्–नेपालमा होटल स्थापना गर्ने व्यक्तिहरू टाइसुट लगाएका र भवन पनि ठूला ठूला हुने भएकाले आमसर्वसाधारण अझै पनि होटलसँग दुरीमा बस्न चाहन्छन् । त्यसैले ६० औं वर्षगाँठमा संघको जोड स्थानीयसँग सम्बन्ध विस्तार गर्ने रहेको छ ।’ ६० वर्षको लामो यात्रा तय गरिसक्दा यो संस्था केवल केही सीमित होटलहरूको मात्र समूह नबनी नेपालका होटलहरूको अभिभावकीय संस्था बनेकाले संघले जुन अभियानलाई अघि सारेको छ, वास्तवमा यो उदाहरणीय र समयको आवश्यकतामा केन्द्रित छ ।

अध्यक्ष शाह भन्छन–स्थानीय र समुदायसँगको सम्बन्ध सुधार गर्न सकियो वा राम्रो हुन सक्यो भने होटल भनेको झिलिमिली ठाउँ र टाइसुट लगाउनेले मात्र काम गर्ने ठाउँ भन्ने बुझाइमा फरक आउनेछ । संघले यो अभियानलाई सर्वसाधारणसँगको सामिप्यतामा केन्द्रित गर्ने जनाएको छ ।
‘हामीले होटललाई केवल विलासितासँग मात्र होइन, आम मानिसको जनजीवन र आर्थिक समृद्धिसँग जोड्न खोजेका छौं,’ संघका अध्यक्ष शाहले भने । नेपालमा आज होटलको अवस्था विगतमा जस्तो छैन । गाउँगाउँमा होटल स्थापना भइसकेका छन् । नेपालीहरू नै एक ठाउँबाट अर्को ठाउँमा जाँदा बस्ने थलो होटल बनेका छन् । केही वर्षअघिसम्म विदेशी नागरिकलाई मात्र पर्यटक देख्ने, बुझ्ने सोचमा व्यापक परिवर्तन हुँदै आन्तरिक पर्यटनको महत्व बढ्दै छ । सातै प्रदेशमा तारे होटलहरू खुल्ने क्रम जारी छ । यसले के पुष्टि गर्छ भने नेपालको आर्थिक समृद्धिको मुख्य आधार नै पर्यटन हो र पर्यटनको प्राण हस्पिटालिटी हो ।
कार्यक्रममा होटल व्यवसाय सम्बद्ध निकायले विभिन्न प्रदर्शनीसमेत गरेका छन् ।
