नवनियुक्त पर्यटनमन्त्री पौडेलले तोके प्राथमिकता: एयर कनेक्टिभिटी, पूर्वाधार र संस्कृतिको संरक्षणमा जोड
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पदभार सम्हाल्दै पर्यटन क्षेत्रको सुधार र विस्तारलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले औपचारिक रूपमा कार्यभार सम्हाले। मन्त्रालयमा सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
पदबहालीपछि कर्मचारीसँगको भेटमा मन्त्री पौडेलले पर्यटन मन्त्रालयबाटै मुलुकको समृद्धिको आधार तयार हुने बताए। आफू लेखक र ट्रेकर भएकाले पर्यटन क्षेत्रका समस्या र सम्भावनासँग परिचित रहेको उल्लेख गर्दै उनले जनहितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
उनका अनुसार मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नेपाललाई गन्तव्य–आधारित पर्यटन केन्द्रका रूपमा विकास गरिनेछ। साथै, विभिन्न धर्म र संस्कृतिसँग जोडिएका पदमार्गको विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिने योजना उनले प्रस्तुत गरे। मन्त्री पौडेलले आगामी पाँच वर्ष सहकार्य, समन्वय र पारदर्शिताका आधारमा काम गर्न कर्मचारीलाई आग्रह गर्दै निर्णय प्रक्रिया सामूहिक हुने र कामको मूल्याङ्कन मेरिटका आधारमा गरिने स्पष्ट पारे।
मुख्य प्राथमिकता
- हवाई सम्पर्क विस्तार र नेपाल वायुसेवा निगमका जहाज थप्ने
- पर्यटन बोर्डको पुनर्संरचना र नीतिगत सुधार
- निजी क्षेत्रमैत्री वातावरण निर्माण
- पर्यटन पूर्वाधारमा लगानी वृद्धि
- सांस्कृतिक तथा पर्यटकीय सम्पदाको दृश्य माध्यमबाट प्रवर्द्धन
- मन्त्रालय र मातहतका निकायमा पारदर्शिता र प्रभावकारी कार्यसम्पादन
कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले मन्त्रालयको वर्तमान अवस्था, नीति संरचना र आगामी योजनाबारे संक्षिप्त जानकारी गराएका थिए।
