ओली–लेखक पक्राउप्रति गृहमन्त्रीको प्रतिक्रिया: ‘यो प्रतिशोध होइन, न्यायको सुरुआत’
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयलाई न्यायिक प्रक्रियाको प्रारम्भ भएको बताएका छन्। उनले यो कदम कसैप्रति बदला लिन नभई कानुनी प्रक्रिया अगाडि बढाउने उद्देश्यले चालिएको स्पष्ट पारे।
उनका अनुसार, ‘ओली र लेखकलाई नियन्त्रणमा लिनु प्रतिशोधको राजनीति होइन, कानुनअनुसार गरिएको कार्य हो। यसबाट देशले सही मार्ग समाउने विश्वास लिएको छु।’
भदौ २३ र २४ मा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा शनिबार बिहान प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
पक्राउपछि उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसर लगिएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन्।
प्रहरी ठूलो संख्यामा निवासमा पुगेपछि ओलीले वरिष्ठ अधिवक्ताहरू रमेश बडाल र टिकाराम भट्टराईलाई बोलाएका थिए। यस क्रममा एमालेका नेता तथा कार्यकर्ताले प्रहरीलाई घरभित्र पस्न अवरोध गरेका थिए, जसले केहीबेर तनावको स्थिति सिर्जना गर्यो। झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेको दाबी पनि गरिएको छ।
एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरीले आवश्यक कागजातसहित बिहानै पक्राउ गर्न आएको बताएकी छन्।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त घटनासम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री गुरूङले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए।
