अध्यक्ष र सीईओविरुद्ध मुद्दा परे पनि एनआईएमबीको बैंकिङ सेवा नियमित
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाले बैंकको नियमित बैंकिङ कारोबारमा कुनै असर नपर्ने स्पष्ट पारेको छ।
बैंकले विज्ञप्ति जारी गर्दै प्रचलित कानुन, नियामक निकायका प्रावधान तथा बैंकिङ अभ्यासअनुसार गरिएका नियमित कामकारबाहीसँग सम्बन्धित विषयलाई लिएर मुद्दा दायर भएको जनाएको छ।
बैंकका अनुसार कानुनी प्रक्रिया अघि बढे पनि यसको प्रभाव दैनिक बैंकिङ सेवा र ग्राहक कारोबारमा परेको छैन। बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत् रहेको र ग्राहकको हितलाई प्राथमिकतामा राख्दै सबै सेवा नियमित रूपमा सञ्चालन भइरहेको बैंकले जनाएको छ।
निक्षेपकर्ता तथा ग्राहकमा कुनै प्रकारको अन्योल सिर्जना नहोस् भन्ने उद्देश्यले बैंकले पछिल्लो समय सार्वजनिक भएका अपुष्ट सूचना र अनुमानका आधारमा धारणा नबनाउन आग्रह गरेको छ। बैंकले आधिकारिक माध्यमबाट जारी हुने सूचनालाई मात्र आधार बनाउन सरोकारवालालाई अनुरोध गरेको छ।
बैंकिङ प्रणालीप्रतिको जनविश्वास र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगको अपेक्षा गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
एनआईएमबीले निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालाबाट प्राप्त विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाको सेवा र सञ्चालनलाई प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
