कांग्रेसभित्रको असहमति र निराशा तत्काल सम्बोधन गर्नुपर्नेमा देउवाको जोड
काठमाडौं । स्वास्थ्य उपचारका क्रममा करिब पाँच महिना सिंगापुर र हङकङमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका देउवालाई कांग्रेसका नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए। स्वदेश फर्किएलगत्तै उनले राष्ट्रिय एकता, राजनीतिक सहकार्य र कांग्रेसभित्रको आन्तरिक एकतामा केन्द्रित अपिल सार्वजनिक गरेका छन्।
देउवाले आफू राजनीतिक शक्ति हासिल गर्ने उद्देश्यले नभई मुलुकको राष्ट्रिय एकता थप सुदृढ गर्न नेपाल फर्किएको बताएका छन्। उनले वर्तमान परिस्थितिमा सबै राष्ट्रवादी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।
उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने सन्देश दिएको स्मरण गर्दै अहिले पनि त्यस्तै प्रकारको राष्ट्रिय एकताको आवश्यकता रहेको उल्लेख गरेका छन्।
देउवाले राजनीतिक प्रतिशोधभन्दा मेलमिलाप र सहकार्यलाई प्राथमिकता दिन सबै पक्षलाई आग्रह गरेका छन्। आफू कुनै पद वा शक्ति प्राप्तिको आकांक्षासहित सक्रिय हुन नआएको स्पष्ट पार्दै उनले विनम्रता, समर्पण र सेवाको भावनाबाट अघि बढ्ने बताएका छन्।
उनको अपिलको अर्को प्रमुख विषय कांग्रेसभित्र देखिएको असहमति र निराशा हो। पार्टीभित्रको विवादलाई लामो समयसम्म कायम राख्न नहुने भन्दै देउवाले तत्काल समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
उनले कांग्रेसले आन्तरिक रूपमा एकताबद्ध हुँदै अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्। देशको राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
संसदमा कांग्रेसको संख्यात्मक अवस्था जे भए पनि २००७ सालदेखि मुलुकका प्रमुख राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको पार्टी भएकाले यसको भूमिका अझै महत्वपूर्ण रहेको देउवाले उल्लेख गरेका छन्।
कांग्रेसजस्तो प्रमुख राजनीतिक दलभित्रको विवादले राष्ट्रिय एकतामै असर पार्न सक्ने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई व्यक्तिगत आग्रह, पूर्वाग्रह र इगोभन्दा माथि उठ्न आग्रह गरेका छन्।
देउवाले नयाँ पुस्ताका नेताहरूलाई अघि बढाउनुपर्ने आवश्यकता स्वीकार गर्दै अनुभवी तथा पाका नेताहरू सबै खराब हुन् भन्ने धारणा निर्माण गर्नु गलत हुने बताएका छन्। पार्टीभित्रका विभिन्न धार र भावनालाई पुनः एकताबद्ध गर्ने समय आएको भन्दै उनले त्यसका लागि सबै नेता तथा कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका छन्।
उनले कांग्रेस जनताको सर्वोच्च हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने र विगतमा पार्टी तथा लोकतन्त्रका लागि भएका त्याग, बलिदान र संघर्षलाई सम्मान गर्दै भविष्यको बाटो तय गर्नुपर्नेमा जोड दिएका छन्।
