ओली र लेखक पक्राउपछि राजनीतिक तरंग, अब के होला?
काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशको राजनीतिक वृत्तमा तरंग सिर्जना भएको छ। कार्की आयोगको सिफारिस कार्यान्वयन गर्दै प्रहरीले शनिबार बिहान दुवै जनालाई निवासबाट नियन्त्रणमा लिएको हो।
ओलीलाई रिहा नगरे महँगो मूल्य चुकाउनुपर्ने चेतावनी
नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारको कदम पूर्वाग्रहपूर्ण र प्रतिशोध प्रेरित भएको आरोप लगाएका छन्। उनले पूर्वाग्रहको राजनीति महँगो पर्ने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
‘कानुनी र राजनीतिक लडाइँ लड्छु’ : लेखक
पूर्वगृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध भएको आरोप लगाएका छन्। उनले सरकारको निर्णय पूर्वाग्रहपूर्ण भएको भन्दै यसको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका छन्।
ओली पक्राउबारे एमाले सचिवालय बैठक
ओली पक्राउको विषयमा रणनीति तय गर्न एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठकले विरोधका कार्यक्रम र आगामी कदमबारे निर्णय गर्नेछ।
ज्यानसम्बन्धी कसुरमा अनुसन्धान
जेन–जी आन्दोलनका क्रममा गोली चल्दा मानवीय क्षति भएको विषयमा ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ। कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण मृत्यु भएको ठहर गर्दै फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले जाहेरी दर्ता गराएसँगै प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको हो।
सर्वोच्च अदालत जाने तयारी
ओली र लेखकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालत जाने तयारी भइरहेको बताएका छन्। उनका अनुसार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेर पक्राउविरुद्ध कानुनी चुनौती दिने तयारी भइरहेको छ।
कार्की आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अभियोजन गर्न सिफारिस गरेको थियो। साथै गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालविरुद्ध पनि अनुसन्धान गर्न सुझाव दिइएको छ।
