अरूको फार्ममा सिकेको सीप, आफ्नै व्यवसायमा लगानी
म्याग्दी — अरूको फार्ममा वर्षौं मजदुरी गरेर सिकेको सीपलाई आफ्नै व्यवसायमा प्रयोग गरेपछि म्याग्दीका मेघबहादुर शेरपुञ्जा व्यावसायिक बङ्गुरपालक बनेका छन्।
धवलागिरि गाउँपालिका–३ मुना घर भएका शेरपुञ्जाले बेनी नगरपालिका–७ मङ्गलाघाटमा ‘मुनाल कृषि तथा पशुपन्छी फार्म’ सञ्चालन गर्दै आएका छन्। करिब एक वर्षअघि सुरु गरेको व्यवसायमा अहिले सानाठूला गरी झण्डै ९५ वटा बङ्गुर छन्।
हाइग्रेड, ल्यान्डरेस र डिउरोक जातका बङ्गुर पाल्दै आएका उनले मासुका लागि तयार भएका बङ्गुर बिक्रीको तयारीसमेत गरेका छन्। हाल करिब १० वटा बङ्गुरको तौल डेढ सयदेखि दुई सय किलोभन्दा बढी पुगेको छ।
शेरपुञ्जाले पाठापाठी खरिद गरी दाना खुवाएर हुर्काउने गरेका छन्। एउटा पाठापाठीका लागि करिब नौ हजार रुपैयाँसम्म खर्च हुने र उत्पादित बङ्गुरको मासु प्रतिकिलो सात सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए।
व्यवसाय विस्तारका क्रममा उनले उत्पादनसँगै बजार व्यवस्थापनलाई पनि प्राथमिकता दिएका छन्। बेनी नगरपालिका–७ इन्द्रेणीटोलमा ‘मुना बङ्गुर मासु पसल’ सञ्चालन गरी आफ्नै फार्ममा उत्पादन भएको मासु उपभोक्तासम्म पुर्याउन थालेका छन्।
‘फार्ममा उत्पादन भएको बङ्गुरको बजार सुनिश्चित गर्न आफ्नै मासु पसल सञ्चालन गरेको हुँ,’ उनले भने, ‘स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराएर ग्राहकको विश्वास कायम गर्ने प्रयासमा छु।’
व्यावसायिक बङ्गुरपालन सुरु गर्नुअघि शेरपुञ्जाले करिब सात वर्ष स्याङ्जास्थित एग्रो रिसर्च एन्ड भेटेरिनरी सेन्टरमा काम गरेका थिए। त्यहाँ काम गर्दा उनले बङ्गुरको पालनपोषण, रोग पहिचान तथा उपचार, आहार व्यवस्थापन र खोर सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए।
त्यही अनुभवलाई आफ्नै व्यवसायमा प्रयोग गर्ने उद्देश्यले उनले परिवार र आफन्तको सहयोगमा करिब ३५ लाख रुपैयाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याएका हुन्।
उनका लागि अरूको फार्ममा गरेको मजदुरी केवल आम्दानीको माध्यम मात्र बनेन, भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने आधारसमेत बन्यो। बङ्गुरको जात छनोटदेखि आहार, सरसफाइ र रोग नियन्त्रणसम्म आफूले सिकेको ज्ञानलाई अहिले आफ्नै फार्ममा प्रयोग गरिरहेको उनी बताउँछन्।
शेरपुञ्जाको अनुभवमा कृषि तथा पशुपालन व्यवसायमा उत्पादनसँगै बजारीकरण पनि उत्तिकै महत्वपूर्ण छ। किसानले उत्पादन गरे पनि बजार र उचित मूल्य नपाए व्यवसाय टिकाउन कठिन हुने भएकाले उनले फार्मसँगै मासु पसल सञ्चालन गरेका हुन्।
फार्मबाट पाठापाठी तथा माउ बिक्री गर्ने र मासुका लागि तयार भएका बङ्गुर आफ्नै पसलमार्फत उपभोक्तालाई बिक्री गर्ने उनको योजना छ। यसबाट उत्पादनदेखि उपभोगसम्मको दूरी घट्ने र ग्राहकले ताजा मासु पाउने उनको विश्वास छ।
बेनी बजार तथा आसपासका स्थानीयवासी उनको पसलमा मासु खरिद गर्न आउन थालेका छन्। नयाँ व्यवसायप्रति ग्राहक र शुभेच्छुकबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको शेरपुञ्जाले बताए।
फार्ममा बङ्गुरको खोर नियमित सफा गर्ने, सन्तुलित आहार दिने तथा स्वास्थ्य परीक्षणमा ध्यान दिने गरेको उनले बताए। व्यवसायलाई विस्तार गर्दै दीर्घकालीन रूपमा व्यवस्थित उद्यमका रूपमा अघि बढाउने उनको लक्ष्य छ।
शेरपुञ्जाका अनुसार म्याग्दीका ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायको सम्भावना भए पनि बजारको समस्या अझै चुनौतीका रूपमा रहेको छ।
‘गाउँमा कृषि र पशुपालनको राम्रो सम्भावना छ। तर उत्पादनको बजार र उचित मूल्य किसानका लागि ठूलो चुनौती हो,’ उनले भने, ‘सरकारले बजार सुनिश्चित गर्ने नीति र प्रोत्साहनका कार्यक्रम ल्याउन सके युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्न सकिन्छ।’
उनले युवालाई स्वदेशमै स्वरोजगार बनाउन व्यावसायिक कृषि तथा पशुपालनमा सहुलियतपूर्ण ऋण, प्राविधिक सहयोग, उत्पादनमा प्रोत्साहन र बजारको सुनिश्चितता आवश्यक रहेको बताए।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्लाका पशुपालकलाई रोगबाट सुरक्षित राख्न खोप तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कार्यालय प्रमुख शर्मिला कुमालका अनुसार पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
