इन्धन महँगिँदा हवाई भाडा उकालो, आन्तरिक उडानमा यात्रु ३०% घटे
काठमाडौं । पछिल्लो समय हवाई क्षेत्रमा उडान संख्या र यात्रुको चाप उल्लेख्य रूपमा घटेको छ। हवाई इन्धनको मूल्य तीव्र रूपमा बढेपछि भाडा महँगिएको र त्यसको प्रत्यक्ष असर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा परेको देखिएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा दैनिक यात्रुको संख्या करिब ३० प्रतिशतले घटेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पहिले दैनिक औसत १२ हजार यात्रु उड्ने गरेकामा हाल यो संख्या घटेर करिब ८ हजारमा सीमित भएको छ।
उनका अनुसार अप्रिल महिनाको सुरुवातदेखि नै हवाई इन्धनको मूल्यमा करिब दोब्बर वृद्धि भएको छ। यसैका कारण आन्तरिक उडान भाडा पनि ५० प्रतिशतसम्म बढेको छ। उदाहरणका लागि, काठमाडौं–पोखरा रुटको एकतर्फी भाडा पहिले ४ हजार ४ सय रुपैयाँ रहेकामा अहिले करिब ६ हजार रुपैयाँ पुगेको छ।
सरकारले २०७५ सालमा गरेको व्यवस्थाअनुसार इन्धनको मूल्यमा हुने परिवर्तनसँगै ‘फ्युल सरचार्ज’ स्वतः समायोजन हुने भएकाले भाडा निरन्तर परिवर्तन भइरहने देखिएको छ। हाल हवाई भाडा निर्धारण गर्दा आधार लागत दर, इन्धन शुल्क, विमानस्थल सेवा शुल्क र १३ प्रतिशत भ्याटलाई आधार मानिने गरिएको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ पनि अवस्था सकारात्मक छैन। यात्रुको संख्या करिब १० प्रतिशतले घटेको छ भने मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण उडान आवागमनमा १५ प्रतिशतसम्म गिरावट आएको प्राधिकरणको तथ्यांकले देखाउँछ। यससँगै अन्तर्राष्ट्रिय भाडा पनि २० देखि २५ प्रतिशतसम्म बढेको छ।
उडान कटौतीको असर प्राधिकरणको आम्दानीमा पनि परेको छ। अन्तर्राष्ट्रिय उडान घट्दा दैनिक ३० देखि ४० लाख रुपैयाँसम्म नोक्सानी भइरहेको छ। केही समयअघि यो घाटा दैनिक १ करोड रुपैयाँसम्म पुगेको थियो। यस्तै, आन्तरिक उडान घट्दा राजस्वमा १५ देखि २० प्रतिशतसम्म गिरावट आएको छ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रताप जंग पाण्डेका अनुसार महँगीका कारण दैनिक करिब २५ सय यात्रु घटिरहेका छन्। उनका अनुसार उडान कटौतीसँगै एयरलाइन्सलाई सञ्चालन खर्च धान्नसमेत चुनौती बढेको छ र यही अवस्था कायम रहे केही कम्पनीहरू बन्द हुने जोखिमसमेत देखिएको छ।
पर्यटन क्षेत्रमा पनि यसको प्रभाव देखिन थालेको छ। होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहका अनुसार अन्तर्राष्ट्रिय उडान घट्दा होटल बुकिङमा कमी आएको छ। उनले इन्धन मूल्य वृद्धिका कारण भाडा महँगिँदा पर्यटक आगमन प्रभावित भएको बताए।
मध्यपूर्वको अवस्था क्रमशः सामान्य बन्दै गए पनि यात्रुमा अझै विश्वास पूर्ण रूपमा फर्किन सकेको छैन। यही सन्दर्भमा नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन होटल व्यवसायीहरूको टोली भारत भ्रमणमा जाने तयारीमा छ। उनका अनुसार सडक मार्गबाट पनि सहज रूपमा नेपाल आउन सकिने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गरिनेछ।
